मणिपालले पोखरा महानगरलाई झण्डै साढे १४ करोड राजश्व तिर्न बाँकी

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेशमै सबैभन्दा सुविधा सम्पन्न र ठूलो मानिएको मणिपाल शिक्षण अस्पताल विभिन्न कारण बेलाबखत चर्चामा आइरहन्छ । पछिल्लो समय मणिपाल ग्रुप इन्डियाबाट मणिपाल शिक्षण हस्पिटलको सम्पूर्ण स्वामित्व बतास अर्गनाईजेशन अन्तर्गतको बापो होल्डीङस् प्रालिले लिएको छ ।

मणिपाल शिक्षण अस्पतालले फूलबारी स्थित नेपाल सरकारसंग भाडामा लिएकोे जग्गामा बनेका कुनैपनि संरचनाको सम्पत्ति कर महानगरलाई हालसम्म बुझाएको छैन । त्यतिमात्र नभई उक्त अस्पतालले बनाएका कुनैपनि भवनको सम्पन्नता नलिएको पोखरा महानगरको नक्सा शाखा प्रमुख वरिष्ठ इन्जिनियर सुरेन्द्र पाण्डेले जानकारी दिए । महानगरले सम्पत्ति कर बुझाउन र भवनहरुको सम्पन्नता लिन गरेको आग्रहलाई मणिपालले आलटाल गरिरहेको उनले सुनाए ।

भाडामा लिएको एक सय ९३ रोपनी क्षेत्रफलमा बनाएको कुनैपनि भौतिक संरचनाको सम्पत्ति कर मणिपालले महानगरलाई नबुझाएको हो । इ. पाण्डेका अनुसार पोखरा महानगरले पटक पटक ताकेता गर्दा पनि मणिपाल शिक्षण अस्पतालले त्यसको बेवास्ता गर्दै आएको छ ।

नेपाल सरकारलाई नै समयावधी पुगेपछि हस्तान्तरण गर्ने भौतिक संरचनाको सम्पत्ति कर नबुझाउने अडान लिँदै मणिपालले सम्पत्ति कर नबुझाउने जिकिर गर्दै आएको छ । महानगरलाई भने कर असुल गर्न अख्तियार लगायतका नियमक निकायले ताकेता गरिरहेका छन् । नेपाल सरकार र मणिपाल ग्रुप इन्डियाबीच सम्झौता भएर ४९ बर्षका लागि मणिपालले भाडामा लिएको हो ।

हाल उक्त हस्पिटलको सम्पूर्ण स्वामित्व बतास अर्गनाईजेशन अन्तर्गतको बापो होल्डीङस् प्रालिले लिएको छ । पोखरेली व्यवसायीले मणिपाल शिक्षण अस्पतालको स्वामित्व लिएका बेला पोखरा महानगरलाई मणिपालले तिर्नुपर्ने राजश्व के हुन्छ भन्ने चासो समग्रमा पोखरेलीलाई छ ।

मणिपाल शिक्षण अस्पतालका आरसिसि विल्डिङ ७ लाख ३९ हजार ४१६ वर्ग फिटमा बनेका छन् । त्यस्तै २८ सय ६ वर्ग फिटमा टिनको छाना भएका संरचना छन् । यि कुनै पनि संरचना निर्माण सम्पन्न भएको महानगरमा प्रमाणित गरेको छैन । महानगरसंग सम्पन्नता नलिएका भौतिक संरचना अबैध ठहर्छ ।

भवनको सम्पन्नता लिन समेत महानगरले आग्रह गरेको छ । अझ तीन वटा भवनको प्रारम्भिक नक्सा स्वकृति समेत मणिपालले नलिएको नक्सा शाखा प्रमुख वरिष्ठ इ. पाण्डेले जानकारी दिए । ‘कुनै भवनको सम्पन्नताको प्रमाणपत्र उसले लिएको छैन, तीन वटा नयाँ संरचनाको उसले प्रारम्भिक स्वीकृति समेत लिएको देखिन्न’ उनले भने ।

यि संरचनालाई बैध बनाउन (सम्पन्नता लिन) मणिपालले झण्डै ६ करोड तिर्नुपर्ने समेत उनले जानकारी दिएका छन् । पोखरा महानगरले स्थानीय सरकार सञ्चालन ऐन २०७४ले पहिला बनेका घरहरु भवन आचरसंहिता अनुरुप भए तीन गुणा बढि शुल्क लिएर स्विकृति दिन सक्ने उनले बताए ।

भौतिक संरचनाको सम्पन्नता लिन र सम्पत्ति कर समेत गरेर मणिपालले महानगरलाई झण्डै १४ करोड ४१ लाख रुपैयाँ तिर्नुपर्ने देखिएको छ । यसका लागि महानगरले पटक पटक ताकेता गरिरहेको छ । महानगरका कर अधिकृत दीपेन्द्र पण्डितका अनुसार यस मध्य ८ करोड ४१ लाख रुपैयाँ मणिपालले राजश्व बापत तिनुपर्ने रकम हो ।

सरकारसंग भाडामा लिएको सम्पत्तिको कर तिर्न सक्दैनौं : मणिपाल

मणिपाल शिक्षण अस्पतालले पोखरा महानगरले दाबी गरे बमोजिम सम्पत्ति कर बापत ८ करोड ४१ लाख रुपैयाँ नतिर्ने बताएको छ । मणिपाल शिक्षण अस्पतालका सिनियर म्यानेजर इ. सञ्जय कुमार गुप्ताले नेपाल सरकारसंग सम्झौता गरेर जग्गा भाडामा लिएकाले उक्त जग्गामा बनेका भौतिक संरचनाको सम्पत्ति कर महानगरलाई बुझाउन नसक्ने बताए ।

उक्त स्थानमा बनेका सबै भौतिक संरचना सम्झौता अवधि पुरा भएपछि सरकारलाई नै बुझाउने भएकाले त्यसको कर बुझाउन नसक्ने उनको भनाई छ । ‘नेपाल सरकारसंग जग्गा भाडामा लिएर संरचना बनाएका हौं, त्यो अवधि पुगेपछि सबै छोड्ने हो, त्यसैले महानगरलाई हामीले भाडामा लिएको जग्गामा बनेका संरचनाको सम्पत्ति कर तिर्न सक्दैनौं, तिर्दैनौं,’ उनले भने ।  यस सम्बन्धी अदालतमा मुद्दा समेत चलेकाले अब त्यसको किनारा लागेपछि जे गर्नुपर्छ त्यहि गर्ने उनको भनाई छ ।

भौतिक संरचना(घरहरु)को सम्पन्नता दिन महानगरलाई गरिएको आग्रह बेवास्ता गरिएको उनको आरोप छ । ‘अनौठो यो छ, हामीसंग बनेका संरचनालाई महानगर स्विकृति दिँदैन । त्यसैमा अस्पताल सञ्चालन गर्न अनुमति दिन्छ । अनि स्विकृति नदिएकै संरचनाको उसले यति र उति कर भन्दै जरिवाना लगाउँछ,’ उनले भने, ‘हाम्रो आफ्नै जमिन भित्र बनेको संरचनाको कर कति तिर्नुपर्ने हो । त्यसको डिटेल लेउ भन्दा पनि दिँदैन ।’

इ. गुप्ताले आफूहरुले तिरेको राजश्व समेत नघटाई महानगरले हिसाब गरेको आरोप लगाएका छन् । ‘हामीले विभिन्न समयमा तिरेको राजश्वको हिसाव समेत महानगरमा छैन । हामीसंग रसिद छ’ उनले भने ।

सञ्चालक पौडल भन्छन् : ‘नकारात्मक कुरा नगरौं, कानुन अनुसार सबै दायित्व लिन्छौं

मणिपाल शिक्षण अस्पतालको स्वामित्व १ जुलाई २०२२ देखि बतास अर्गनाइजेशन अन्तर्गतको बापो होल्डीङ्स प्रालिले लिएको छ । मणिपालको सबै तिर्नुपर्ने र लिनुपर्ने सबै दायित्व अब नयाँ व्यवस्थापनमा आएको मणिपालका सिनियर म्यानेजर इ. सञ्जय कुमार गुप्ताले बताए ।

मणिपाल शिक्षण अस्पतालका नयाँ सञ्चालक मध्यका एक नारायाण पौडेलले कानून अनुरुप महानगरलाई तिर्नुपर्ने राजश्व आफूहरुले तिर्ने र मणिपालको सम्पूर्ण दायित्व आफूहरुमा स्वभाविक रुपमा आएको प्रतिक्रिया दिए । यद्यपी उनले पनि पुरानो मणिपाल व्यवस्थापनले जस्तै कानूनी आधारको कुरा गरेका छन् । पोखरा महानगरलाई तिर्नुपर्ने राजश्वका विषयमा राखिएको जिज्ञासामा उनले ‘अहिलेसम्म यस विषयमा तपाईहरुको चासो किन गएन । हामीले स्वामित्व लिएपछि किन सोध्नुभयो ?’ भन्ने प्रश्न गरे ।

पोखरेली व्यवसायीले मणिपाल किन्दा पोखरा महानगरपालिकाले पाउने राजश्व के हुन्छ भनेर जिज्ञासा राख्नु अस्वभाविक हो र ? भन्ने हाम्रो जिज्ञासामा उनले ‘तपाईहरु सुरुमै नकारात्मक कुरा गर्नुहुन्छ’ भनेका छन् । ‘तपाईले प्रश्न नै नकारात्मक ढंगले सोध्नुभयो । मणिपालले अहिलेसम्म किन राजश्व तिरेन । यसका खास कानुनी अधार होलान नी । राज्य भन्दा संस्था वा व्यक्ति ठूलो हुँदैन । तर कानूनी प्रश्नको पनि निराकरण हुनुपर्ला नि । कानूनी प्रक्रियामा गएको विषय त्यही बमोजिम हुन्छ’ उनले जवाफ दिए ।

महानगरले लिनुपर्ने राजश्व लिएरै छाड्छ : मेयर आचार्य

महानगरका मेयर धनराज आचार्यले महानगरले प्राप्त गर्नुपर्ने राजश्व नछाड्ने बताए । मणिपाल शिक्षण अस्पतालबाट लिनुपर्ने राजश्व लिन आफूहरुले ताकेता गरिरहेको जानकारी दिँदै उनले अहिलेसम्म यतिका समयसम्म रोकिनु आफैमा विडम्बनापूर्ण रहेको बताए ।

‘मणिपालको विषय पहिले देखि नै उठिरहेको विषय हो । यसलाई गम्भिरतापूर्वक हामीले लिएका छौं । बहाना बनाएर राजश्व नतिर्ने भन्ने हुँदैन । हामी यस विषयमा कडाइका साथ लाग्छौं’ उनले भने ।

 

  • २३ भाद्र २०७९, बिहीबार १६:०१ प्रकाशित