निस्सा लालपुर्जा होइन, तर लालपुर्जा पाउने कुराको ग्यारेन्टी हो : प्रमुख आचार्य

केन्द्रभाग मिडिया

पोखरा।

पोखरा महानगरपालिका वडा नं. ६ का भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुलाई जग्गा धनी पुर्जाको निस्सा वितरण गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ, राष्ट्रिय भूमि आयोग कास्कीका अध्यक्ष गङ्गा पोख्रेल लगायतले संयुक्त रूपमा उनीहरूलाई जग्गा धनी पुर्जाको निस्सा वितरण गरेका हुन्।

सो क्रममा प्रमुख आचार्यले निस्सा आफैमा लालपुर्जा नभए पनि लालपुर्जा पाउने कुराको ग्यारेन्टी भएको बताए ।‘अहिले निस्सा वितरणको काम सुरु भएको छ, यो निस्सा आफैमा लालपुर्जा होइन, तर लालपुर्जा पाउने कुराको ग्यारेन्टी हो, उनले भने, जोखिम स्थानहरूमा जमिन वितरण गर्न सक्दैनौँ, मापदण्ड भित्रका क्षेत्रमा पनि वितरण गर्न सक्दैनौँ, तर सुरक्षित स्थानमा उचित व्यवस्थापन अवश्य गर्नेछौँ ।’ अव यो सबै प्रक्रिया पुरा गरिसकेपछि कास्की जिल्लामा भूमिहीन कोही पनि नरहने उनले विश्वास व्यक्त गरे।

‘नपाउने कोही पनि हुनुहुन्न, अव यो सबै प्रक्रिया पुरा गरिसकेपछि कास्की जिल्लामा भूमिहीन कोही पनि रहन्न, अव पछि आएर कसैले बाँस गाडेर हामी हौँ भन्नुभयो भने हामी उहाँहरूलाई भूमिहीन सुकुम्वासी भन्न तयार छैनौँ ।’ प्रमुख आचार्यको भनाई छ । उनका अनुसार महानगर भित्र यस प्रकृतिको कुल सङ्ख्या १९ हजार ८ सय ५६ नै अन्तिम हो ।

पोखरा महानगरपालिकाकी उपप्रमुख मन्जुदेवी गुरुङले कुनै पनि नागरिक भूमिहीन हुन नपरोस् भन्ने मान्यताका आफूहरूको भए पनि लामो समय यसैमा अल्झनु परेको बताए । सुकुम्बासीहरलाई भोट बैकका रूपमा प्रयोग गरिन्छ भन्ने राजनीतिक आरोपमा कुनै सत्यता नभएको गुरुङले स्पष्ट पारे । उनले आफूहरू विशुद्ध नागरिकहरूलाई भूमिको मालिक बनाउने प्रक्रिया प्रति इमानदार रहेको बताए ।

‘तपाँईहरुले प्राप्त गरेको यो निस्सा भनेको तपाँईहरु भूमिहीन हो भन्ने कुराको प्रमाण हो,उपप्रमुख गुरुङले भनिन्, यो प्रमाण लिएर अगाडी बढेपछि लालपुर्जा बन्ने कुरा रहन्छ ।’ यो समस्यालाई आफूहरूले टुङ्गोमा पुराएर जाने उनले विश्वास दिलाए । कुनै पनि नागरिक भूमिहीन बनेर बस्नु नपर्ने वातावरण तयार गर्ने उपप्रमुख गुरुङले बताए ।

राष्ट्रिय भूमि आयोग कास्कीका अध्यक्ष गङ्गा पोख्रेलले जग्गा प्राप्तिको बलियो प्रमाणका रूपमा वितरण गरिएको निस्सालाई कम नआँक्न आग्रह गरे । पोखरा महानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष विष्णु बहादुर भट्टराईले लामो समयको कसरत पनि भूमिहीनहरूलाई भूमिको मालिक बनाउने प्रक्रियामा आफूहरू रहेको बताए ।

मङ्गलवार वडा नं। ६ का ६४ जना भूमिहीनलाई जग्गा धनी पुर्जाको निस्सा वितरण गरिएको छ ।

  • २२ भाद्र २०७९, बुधबार १६:३० प्रकाशित