कांग्रेस ८० सिटको वरिपरि सहमत बन्यो : प्रचण्ड

केन्द्रभाग मिडिया

धनगढी ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबारसम्म सिट बाँडफाँटको टुंगो लाग्ने बताएका छन्। उनले नेपाली कांग्रेसले सय सिटबाट घट्ने भए पछि सहमतिको नजिक पुगिएको दावी गरे ।

मंगलबार बिहान धनगढी विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले भोलि नेपाली कांग्रेसले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ८० सिटमा मान्ने सम्भावना बढेको बताए । यसअघि नेपाली कांग्रेसले एक सय सिट दाबी गरिरहेको थियो।

प्रचण्डले आफूहरूले ६० आसपास सिट पाउने पनि बताए। यसैगरी, एकीकृत समाजवादी र जसपाले २५र२५ सिट दाबी गरेको र सबै दलको दाबी अनुसार सहमति खोज्ने प्रयास भइरहेको बताए।

‘तपाईंहरूलाई थाहै छ, नेपाली कांग्रेसले यसअघि सय सिट नभई हुँदैन भनिराखेको थियो। अहिले कांग्रेस ८० को वरिपरि आउने सम्भावना बढ्दो छ। हामीले पनि ६० भनेका छौं । ६० बाट केही तलमाथि होला तर त्यसैको वरिपरि होला भन्ने हाम्रो विश्वास छ’, प्रचण्डले भने, ‘त्यसैगरी समाजवादी पार्टीले २५ वरिपरि भन्ने गरेको स्थिति छ। जसपाले पनि २५ को वरिपरि नै दाबी गरिराखेको स्थिति छ। यसैलाई आधार बनाएर कार्यदलले क्षेत्र र प्रदेशसम्म हेरेर एकैपटक टुंग्याउने भनेर लागिरहेको छ। आज बेलुकासम्मको समय दिएका छौं। भोलि हामी शीर्ष तहमा बसेर त्यसलाई अन्तिम रूप दिन्छौं।’

उनले मिलेको जति कार्यदलले मिलाउने र मिल्न बाँकीलाई शीर्ष तहमा बसेर टुंग्याउने बताए। प्रचण्डले सिट संख्यामा दाबी आ(आफ्नो भएपनि सहमतिमै निष्कर्षमा पुगिने बताए।

‘दाबी त सबैका आ–आफ्ना हुने नै भए। दाबी हुने कुरा एउटा हो, अन्तिममा सहमति हुने कुरा अर्को हो। तर, सबैको मिल्ने नजिकै छ’, प्रचण्डले थपे।

  • २१ भाद्र २०७९, मंगलवार ११:४२ प्रकाशित