उम्मेदवार सिफारिस धमाधम : शिर्ष नेता को कहाँ – कहाँ सिफारिस भए ?

केन्द्रभाग मिडिया

काठमाडौं ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव नजिकिँदै गर्दा दलहरुले धमाधम उम्मेदवार सिफारिस गर्न थालेका छन् ।

पार्टीका स्थानीय कमिटी र जिल्लाले उम्मेदवारहरुको नाम प्रदेश हुँदै केन्द्रमा पठाउन थालेका छन् । कतिपय ठाउँमा एकल नाम सिफारिस भएको छ भने धेरै ठाउँमा दुईभन्दा बढी नाम सिफारिस भएका छन् ।

कतिपय शीर्ष नेताहरु एकभन्दा बढी क्षेत्रबाट सिफारिसमा परेका छन् । सिट बाँडफाँटमा सहमति हुन बाँकी रहँदा गठबन्धनका दलहरुभित्रबाट पनि उम्मेदवार सिफारिस भइरहेको छ । स्थानीय कमिटीले उम्मेदवार बन्न खोज्नेहरुको नाम समेटेर प्रदेश र केन्द्रमा पठाएपछि केन्द्रले निर्णय गर्नेछ ।

अहिलेसम्म मुख्य पार्टीका धेरैजसो शीर्ष नेताहरुको नाम सिफारिस भइसकेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट उम्मेदवार बन्ने तयारीमा छन् , उनको नाम सिफारिस हुन बाँकी छ । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा डडेलधुराबाट तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन-३ र गोरखा-१ बाट उम्मेदवार सिफारिस भएका छन् ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल काठमाडौं २, रौतहट १ र ४ बाट सिफारिस भएका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सिरहा १ र २, बारा २ र मोरङ ५ बाट सिफारिस भएका छन् ।

यसैगरी एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल काठमाडौं ५ बाट, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ १ बाट र नेता शेखर कोइराला मोरङ ६ बाट सिफारिस भएका छन् । एमाले उपाध्यक्ष विष्णु पौडेल रुपन्देही २, उपाध्यक्ष सुरेन्द्र पाण्डे चितवन १, उपाध्यक्ष युवराज ज्ञवाली दाङ ३ र महासचिव शङ्कर पोखरेल दाङ २ बाट सिफारिस भएका छन् ।

कांग्रेस उपभासपति पूर्णबहादुर खड्का सुर्खेत १ र उपसभापति धनराज गुरुङ स्याङ्जा १, महामन्त्री गगन थापा काठमाडौं ४ र विश्वप्रकाश शर्मा झापा १ बाट सिफारिस भएका छन् । यस्तै सभामुख अग्निप्रसाद सापकोटालाई माओवादी केन्द्रले सिन्धुपाल्चोक १ बाट सिफारिस गरेको छ ।

  • २० भाद्र २०७९, सोमबार १०:२८ प्रकाशित