नियम विपरित चुरोट कारखानाको जग्गा भाडामा, अख्तियारको पनि चासो

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरपालिकाले नियम विपरित जनकपुर चुरोट कारखानाको नाममा रहेको जग्गा भाडामा लगाएको खुलेको छ । महानगरका निवर्तमान मेयर मानबहादुर जिसीले पोखरा ९ नयाँ बजारमा जनकपुर चुरोट कारखानाको नाममा रहेको जग्गा नियम विपरित व्यवसायीक प्रयोजका लागि भाडामा लगाएको खुलेको हो ।

जनकपुर चुरोट कारखानाको कित्ता नम्बर  २९ को १८०७ वर्गमिटर जग्गा महानगरले काठमाडौँ–पोखरा भलाइ प्रालिलाई भाडामा लगाएको हो । महानगरले काठमाडौँ–पोखरा भलाइ प्रालिलाई दुई वर्षका लागि जग्गा भाडामा लगाएको सम्झौता पत्रमा उल्लेख छ । ६ पुस ०७६ मा महानगरले गरेको सम्झौताअनुसार सम्झौताको म्यादसमेत सकिइसकेको छ । तर, नयाँ सम्झौता नगराई उक्त स्थान व्यवसायीले माइक्रो बस पार्किङको रूपमा प्रयोग गरिरहेका छन् ।

काठमाडौँ पोखरा भलाइ प्रालिका संयोजक कुलराज गुरुङले सम्झौता पत्रमा प्रयोजन उल्लेख नगरे पनि बसहरू पार्किङ गर्न उक्त जग्गा भाडामा लिएको जानकारी दिए । उनले पाँच वर्षका लागि मासिक एक लाख रुपैयाँ भाडा बुझाउने सर्तमा जग्गा लिएको भए पनि सम्झौता पत्रमा भूलवश दुई वर्ष मात्रै लेखिएको बताए । त्यसलाई सच्याएर समय थप गर्न महानगरलाई आग्रह गरिरहेकोे उनले बताएका छन् ।

महानगरका अनुसार भलाई प्रालिले नियमित रुपमा सम्झौता अनुरुपको भाडा समेत महानगरलाई तिरेको छैन । महानगरलाई सम्झौता बमोजिम २१ लाख रुपैयाँ भाडा (जरिवानासमेत गरेर) तिर्न बाँकी रहको र त्यसका लागि ताकेता गरिएको महानगर राजश्व शाखाका एक कर्मचारीले जानकारी दिए ।

उनका अनुसार यस अगाडि तीन पटकसम्म गरेर उक्त कम्पनीले १६ लाख रुपैयाँ बुझाएको छ । ‘उहाँहरु (काठमाडौँ–पोखरा भलाइ प्रालि) अहिलेसम्म तीन पटक गरेर १६ लाख रुपैयाँ बुझाएको छ । अझै सबै गरेर २१ लाख रुपैयाँ बुझाउनुपर्ने देखिएको छ । महानगरको तर्पmबाट ताकेता भइरहेको छ’ उनले भने ।

नियम विपरित गरिएको सम्झौता पत्रमा पोखरा महानगरको तर्फबाट तत्कालिन मेयर मानबहादुर जिसी र पोखरा काठमाडौं भलाइ प्रालिको तर्फबाट संयोजक गुरुङले हस्ताक्षर गरेका छन् । महानगरपालिकाका यातायात शाखा प्रमुख इ. सुरेन्द्र पौडेल र राजस्व प्रशासन महाशाखाका तत्कालीन प्रमुख छविलाल शर्मा साक्षी छन् ।

इ . पौडेलले महानगरलाई आम्दानी हुने विषय भएकाले साक्षी बसेको प्रतिक्रिया दिए । ‘यत्तिकै खेर गइरहेको जमिन थियो । कोही अमुक समूहले उक्त जग्गा भाडामा लगाएको पाइयो । हेर्दा सार्वजनिक जमिन देखिएपछि महानगरलाई आम्दानीपनि हुने र ट्राफिक व्यवस्थापनमा समेत सहज हुने देखेर सम्झौता गरिएको हो । मेयरसाबले नै सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । भाडामा लगाउनु नियम विपरित भएपनि टिप्पणी उठाएर गरिएको निर्णय र मेयरसाबले नै साँक्षी बस्नु भनेपछि बसेको हौं’ इ. पौडेले भने ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत यस विषयमा चासो राखेको इ. पौडेलले जानकारी दिए । ‘महानगरको हाम्दानी हुने भएपछि हामी साँक्षी बस्यौं । अहिले अख्तियारले समेत पत्र काटेर बोलाईरहेको छ’ उनले भने ।

पोखरा महानगर वडा नम्बर ९ का निवर्तमान वडाध्यक्ष रामराज लामिछानेले सम्बन्धित वडालाई जानकारी नै नदिई मेयरले व्यवसायीलाई सुटुक्क दिएको हुनाले उक्त जग्गा दिनुमा आर्थिक चलखेल भएको आसंका गर्छन्।

वडा नम्बर ९ मै रहेको बसपार्क निर्माण र व्यवस्थापनमा ध्यान नदिने तर जनकपुर चुरोट कारखानाको जग्गा सम्बन्धित वडाध्यक्षलाई थाहा नदिई व्यवसायीलाई भाडामा दिनुले शंका उब्जाएको छ । मैले त्यतिबेला पनि छनविनको माग गरेको थिएँ,’ उनले भने

सिडिओ आचार्य भन्छन्–महानगरले मनलाग्दी गर्न पाउँदैन 

कास्कीका प्रमुख जिल्ला अधिकारी जयनाराण आचार्यले जनकपुर चुरोट कारखानाको जग्गा महानगरले आफ्नो हिसाबले उपयोग गर्न नमिल्ने बताए । जनकपुर चुरोट कारखाको जग्गा उपयोग गरेर महानरले आम्दानी गर्न मिल्दैन ।

आम्दानी गर्ने हो भने जसको जग्गा हो उसैसंग के प्रयोजनका लागि उपायोग गर्ने हो उल्लेख गरेरै सम्झौता गर्नुपर्छ’ उनले भने ।

‘सरकारअन्तर्गतको एउटा संस्थाको नाममा रहेको जग्गालाई स्थानीय तहले संरक्षण गर्न सक्छ सक्ने तर मनमौजी ढंगले उपयोग गर्न वा त्यसबाट आम्दानी लिने माध्यम बनाउन नसक्ने उनको प्रष्टोक्ति छ ।

  • २० भाद्र २०७९, सोमबार ०९:४१ प्रकाशित