काठमाडौं ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई लाइन बस्नुस भन्ने एकजना सुरक्षागार्ड पक्राउ परेका छन् ।
शुक्रबार ठमेलस्थित छायाँ सेन्टरमा बायो मेट्रिक दिन पुगेका मन्त्री श्रेष्ठलाई सुरक्षागार्डले लाइनमा बस्न आग्रह गरेका थिए । तर मन्त्रीलाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको छ ।
मन्त्रीलाई अभद्र व्यवहार गरेको आरोपमा सुरक्षागार्डलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।
पक्राउ पर्नेमा ‘ग्रुप फोर सेक्युरिटी’ अन्तर्गत छायाँ सेन्टरमा कार्यरत शेरजंग कुँवर छन् । उनलाई अभद्र व्यवहारसम्बन्धी कसूरमा म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
स्रोतका अनुसार पर्यटनमन्त्री श्रेष्ठ छायाँ सेन्टर पुगेका बेला अन्य व्यक्तिहरु लाइन बसिरहेका थिए । निजी सुरक्षा अधिकृत (पीएसओ)सहित गएका पर्यटनमन्त्री श्रेष्ठ त्यहाँबाट अगाडि जान खोज्दा कुँवरले रोकेका थिए । लगत्तै पीएसओले उनी मन्त्री भएको बताए ।
तर सुरक्षागार्ड श्रेष्ठले ‘जो भए पनि लाइन’मा आउनुस् भनेको जनाइएको छ। त्यसपछि विवाद भएको बताइएको छ। यही विषयलाई लिएर मन्त्रालयले प्रहरीमा जाहेरी पनि दिएको छ ।













