प्रतिस्पर्धामा पृथ्वी सुब्बा गुरुङ र खगराज अधिकारी !

केन्द्रभाग मिडिया

समाचार टिप्पणी

गत निर्वाचनमा नेकपा एमालेमा प्रदेशसभाको संसदीय दलको नेता बन्ने उद्देश्य राखेर नेकपा एमालेका तत्कालिन सचिव एवं संगठन विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङ गण्डकीको प्रदेश सभा सदस्यमा उम्मेदवार बने । उनले उम्मेद्वार बन्न आउँदा भनेका थिए ‘पार्टीको सचिव र संगठन विभाग प्रमुख प्रदेश सभामा किन आउँछ ? मुख्यमन्त्री बन्न नै आएको हो नि । यसमा सबै प्रष्ट हुनुपर्छ’

०७४ को निर्वाचनमा गुरुङसंगै नेकपा एमालेमा स्थायी समिति सदस्य किरण गुरुङ पनि प्रदेशसभा सदस्यका लागि प्रतिस्पर्धा गर्न आए । उनले पनि आफूलाई मुख्यमन्त्रीकै दाबेदारका रुपमा उभ्याए । ‘स्वभाविक रुपमा मुख्यमन्त्री बन्ने उद्देश्य सहित प्रदेशसभामा प्रतिस्पर्धा गर्न आएको हो’ उनले भनेका थिए ।

कास्कीमा एमालेमा प्रभावशाली नेता खगराज अधिकारीले भने सुरुमा प्रदेशको मुख्यमन्त्री बन्ने तर्फ चासो राखेनन् । यद्यपी एउटा पत्रकार भेटघाट कार्यक्रममा उनले आफूलाई भावी मुख्यमन्त्रीको रुपमा चर्चा नगरिदिएको भन्दै दुखेसो पोखेका थिए । त्यस अघि स्वास्थ्यमन्त्री बनेका अधिकारी गत निर्वाचनमा प्रतिनिधिसभा सदस्य निर्वाचित भई छोटो अवधि गृहमन्त्रालयको जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त गरे ।

संघीय मन्त्री बनिसकेका पृथ्वी सुब्बा गुरुङ प्रदेशसभा सदस्य निर्वाचित बनेर एमाले गण्डकीको संसदीय दलको नेता चयन हुँदै गण्डकी प्रदेशको संस्थापक मुख्यमन्त्री बन्न सफल भए । मुख्यमन्त्री बन्नकै लागि पृथ्वी सुब्बा गुरुङसंगै प्रदेश ओर्लेका किरण गुरुङ प्रदेशसभामा विजयी भएर संसदीय दलको नेता बन्न पृथ्वी सुब्बा गुरुङसंग प्रतिस्पर्धा गरे । तर, उनी पराजित बने । पराजित बनेका किरणले अर्थमन्त्रीको जिम्मेवारी सम्हाले ।

आगामी ४ मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि लमजुङको प्रदेश निर्वाचन क्षेत्र ख बाट प्रदेशसभा सदस्य उम्मेदवारका लागि पृथ्वी सुब्बा गुरुङ सिफारिस भएका छन् । फेरी गण्डकी प्रदेशको मुख्यमन्त्री बनाउने उद्देश्यसहित गुरुङलाई प्रदेशमा निर्वाचन लड्न लगाइएको हो ।

यता कास्कीको क्षेत्र नम्बर १ प्रदेश क बाट प्रदेशसभा सदस्य उम्मेद्वारको लागि खगराज अधिकारी सिफारिस भएका छन् । उनलाई पनि गण्डकी प्रदेशको मुख्यमन्त्री बनाउने उद्देश्यसहित सिफारिस गरिएको एमाले कास्कीका नेताहरुले बताएका छन् ।

गण्डकी प्रदेशमा अझ खासगरी कास्कीमा एमाले पूर्णतया पृथ्वी सुब्बा गुरुङ र खगराज अधिकारीको पक्षमा विभाजित छ । एमालेको जिल्ला अधिवेशन र हालैसम्पन्न स्थानीय तहको निर्वाचनमा समेत दुई पक्षीय नेता कार्यकर्ता एक अर्काका पक्षका कार्यकर्ताको विरुद्धमै लागेका थिए ।

पोखरा महानगरमा मेयरका उम्मेद्वार बनेका कृष्ण थापा गुरुङ पक्षधर नेता कार्यकर्ताको असहयोगकै कारण पराजय भएको अधिकारी पक्षको आरोप छ । यो विवाद अहिले केन्द्रसम्म नै पुगेको छ । यहि बीचमा गुरुङ र अधिकारी प्रदेशसभा सदस्य उम्मेद्वारका लागि सिफारिस हुनुले निर्वाचित भएमा दुर्बजनाले संसदीय दलको नेतामा दाबी गर्नेछन् ।

पार्टीलेले बहुमत ल्याएमा या अन्यढंगले एमालेको बहुमत संख्या पुगेमा एमाले संसदीय दलको नेता प्रदेशको मुख्यमन्त्री बन्ने छन् । प्रदेशसभा सदस्यका लागि निर्वाचन क्षेत्र अलग भएपनि एमालेका नेता कार्यकर्ता मात्र होइन गण्डकी प्रदेशको राजनीतिक बृत्तमा अब पृथ्वी सुब्बा गुरुङ र खगराज अधिकारी आफै आम्नेसाम्ने प्रतिस्पर्धा गर्ने चरणमा अगाडि बढेको विश्लेषण भएको छ ।

एमाले नेता किरण गुरुङ भने यसपाली तनहुँबाट प्रतिनिधिसभा सदस्यकै लागि उम्मेदवार बन्ने तयारी छन् । प्रदेशको प्रतिस्पर्धामा आफू नरहेको र आफू संघ तर्फ नै निर्वाचन लढ्ने उनले जानकारी दिए ।

  • १९ भाद्र २०७९, आईतवार ०९:३१ प्रकाशित