देशभर वर्षा, गण्डकीसहित ३ वटा प्रदेशमा भारी वर्षा हुने

केन्द्रभाग मिडिया

पोखरा ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तर तर्फ अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही लुम्बिनी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरूमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी, गण्डकी र सुदुरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा र बाँकी प्रदेशहरूका एक/दुई स्थानमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

लुम्बिनी, गण्डकी र सुदुरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले उक्त प्रदेशका भू–भागहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवनर यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

 

  • १७ भाद्र २०७९, शुक्रबार ०७:१४ प्रकाशित