सरकारले बजेट दिएन, नबौँ खेलकुदमा सहभागि हुन सक्ने अवस्था छैन : मन्त्री मनाङे

केन्द्रभाग मिडिया

File photo

पोखरा ।
गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ (दिपक मनाङे)ले नबौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन नसकिने बताएका छन् । मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गरि मन्त्री गुरुङले खेलाडीलाई बन्द प्रशिक्षणमा राख्न आर्थिक अभाव भएकाले प्रतियोगितामा खेलाडी सहभागी गराउन नसक्ने अवस्था आएको बताए ।

प्रतियोगिताका लागि संघबाट प्रदेश खेलकुद मन्त्रालयलाई एक रुपिया पनि नआएको र प्रदेश सरकारले समेत प्रयाप्त बजेट नदिएका कारण खोलडी पाल्न सक्ने अवस्था नरहेको गुरुङले बताए । संघ सरकारले नबौँ खेलकुदका लागि ६० करोड दियो भन्छ, तर प्रदेशमा एक रुपिया पनि बजेट नआएको भन्दै मन्त्री गुरुङले उधारोमा काम गर्न नसकिने बताए । उधारोमा काम गर्दा भोली तिर्न नसक्दा फस्ने वाहेक केही नहुने उनले बताए । होटलमा पैसा तिर्न नसक्दा ठगि मुद्धाम जेल जाने वाहेक केही नहुने उनको भनाई थियो ।

मन्त्री गुरुङले खेल हुने प्रदेशमा पूर्वाधारमा सरकारले एक रुपैया पनि खर्च नगरेको बताए । सातै प्रदेशलाई बजेट मिलाएर दिनुपर्ने र जाहाँ गेम हुन्छ त्यो प्रदेशमा १०/ १५ करोडका संरचना बनाउनुपर्ने हो, तर छुट्टिएको बजेट समेत खर्च हुन सकेन ।

खेलकुद मन्त्रालयले प्रदेश सरकारलाई नवौँ खेलकुदका लागि ७ करोड ८५ लख खर्च हुने भन्दै बजेट माग गरेको थियो । तर प्रदेश सरकारले वार्षिक कार्यक्रमको एक करोड बजेट समेत काटेर ५० प्रतिशत रकम मात्र दिएको मन्त्री गुरुङले बताए । मन्त्रालयकोे सबै बजेट नवौ प्रतियोगितामा राख्नुपरेको उनको दुखेसो थियो ।

प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले खेलकुदमा लाग्ने ३ करोड रकम अपुग भएको बताए । बजेटको सुनिश्चितता नहुदा खेलाडीलाई दिने पुरस्कार रकम समेत अभाव हुने अवस्था आएको उनले बताए ।

गण्डकीकबाट ३६ खेलका ४ सय ४ इभेन्टमा ४ सय ११ पुरुष र २९८ महिला गरी ७ सय ९ खेलाडी नवौँ खेलकुदमा सहभागीता जनाउने छन् ।

नबौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ देखि कार्तिक ३ गतेसम्म पोखरामा हुदैँ छ ।

 

  • १५ भाद्र २०७९, बुधबार १८:१७ प्रकाशित