काठमाडौँ ।
अफगानिस्तानले टि २० एसिया कप २०२२ को सुपर फोरमा स्थान बनाएको छ । समूह बी अन्तर्गत गएराति भएको खेलमा बंगलादेशलाई ७ विकेटले हराउँदै अफगानिस्तान एसिया कप क्रिकेटको सुपर फोरमा पुग्ने पहिलो टिम बनेको हो ।
जितको लागि १ सय २८ रनको विजयी लक्ष्य पछ्याएको अफगानिस्तान १८.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्न सफल भयो । अफगानिस्तानका लागि नाजिबउल्लाह जद्रान ४३ रन तथा इब्राहिम जद्रान ४२ रनमा अविजित रहे । त्यस्तै, ओपनर हज्रतुल्लाह जजाई २३ रन जोडे ।
बलिङमा बंगलादेशका सकिब अल हसन, मोसाद्देक हसन र मोहम्मद सैफुद्दिनले समान एकएक विकेट लिए ।
त्यसअघि शारजाहमा टस जितेर पहिला ब्याटिङ थालेको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २७ रन बनाएको थियो । बंगलादेशका मोसाद्देक हसन सर्वाधिक ४८ रनमा अविजित रहे भने महमुदूल्लाह रियादले २५ रन जोड्नुबाहेक अन्य खेलाडीेले राम्रो प्रदर्शन गर्न सकेनन् ।
बलिङमा अफगानिस्तानका राशिद खान र मुजिब उर रहमानले समान ३र३ विकेट लिए ।
एसिया कपमा आज भारत र हङकङबीच खेल हुँदैछ ।