केन्या विरुद्धको निर्णायक खेलमा नेपालको जीत

केन्द्रभाग मिडिया

पोखरा ।
केन्याविरूद्धको निर्णायक तथा पाँचौ टी–२० खेलमा जित निकाल्दै नेपालले सिरिज ३/२ ले आफ्नो पक्षमा पारेको छ। नेपालले मंगलबार भएको पाँचौ टी–२० मा केन्यालाई ३१ रनले पराजित गर्दै सिरिज जितेको हो।

यसअघि नेपालले पहिलो टी–२० मा ५ विकेट र तेस्रो टी–२० मा ४ विकेटको जित निकालेको थियो । दोस्रो टी–२० मो केन्या १८ रनले विजयी हुँदा हिजो भएको चौथो टी–२० मा उसले ७ रनको जित निकालेको थियो।

मंगलबार नेपालले दिएको १७६ रनको लक्ष्य पछ्याएको केन्याले ७ विकेटको क्षतिमा १४४ रन मात्र जोड्न सक्यो।

केन्याका ओपनर कोलिन ओबुया २३ रन र सुखदिप सिंह ४ रनमा आउट भए। इर्फान करिमले २८ रन जोडे भने राखेप पटेल १ रन र सचिन भुडिया शून्यमा आउट भए।

ओडियाम्बोले सबैभन्दा बढी ३७ रन जोडे। २२ बलमा ४ चौका र १ छक्का हिर्काएका उनलाई बसिर अहमेदले आउट गरे। बसिरले लुकासको पनि विकेट लिने क्रममा ४ रनमा आउट गरे। यस्तै एनगोचे ३३ रनमा नटआउट रहदा नेल्शन ओडियाम्बोले नटआउट १३ रन जोडे ।

बलिङमा नेपालका कप्तान सन्दीप लामिछाने र बसिर अहमेदले २(२ विकेट लिए। करण केसी, आदिल अन्सारी र दीपेन्द्रसिंह ऐरीले १(१ विकेट हात पारे।

त्यसअघि केन्याको नैरोबीस्थित जिमखाना मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा १७५ रन जोड्यो । नेपालका लागि ज्ञानेन्द्र मल्लले अर्धशतक प्रहार गरे। ओपनिङमा आएका ज्ञानेन्द्रले ५९ रन जोडे। उनले ४४ बलमा ५ चौका र २ छक्का हिर्काए।

रोहितकुमार पौडेल अन्तिम ओभरको चौथो बलमा आउट हुनुअघि ४७ रन जोडे। उनले २५ बलमा ७ चौका प्रहार गरे । अर्का ओपनर अर्जुन साउदले २१ बलमा २९ रनको योगदान गरे । दीपेन्द्रसिंह ऐरीले १८ बलमा २२ रन बनाए । पवन सर्राफ १ रन, आदिल अन्सारी ४ रन र विवेक यादव २ रनमा आउट भए।

 

  • १४ भाद्र २०७९, मंगलवार १९:३७ प्रकाशित