काठमाडौंं । विद्यार्थीको नतिजामा हुने नाम, थर, ठेगाना, जन्ममिति लगायत त्रुटि सच्याउने काम भइरहेकाले आज कक्षा १२ को नतिजा प्रकाशन नहुने भएको छ ।
यद्यपि बोर्डले केहि दिनमै नतिजा सार्वजनिक गर्ने बोर्डका सदस्यसचिव दुर्गाप्रसाद आर्यालले जानकारी दिए । नतिजा सार्वजनिक गर्ने तयारीका लागि मंगलबार बोर्ड बैठकसमेत बोलाइएको थियो ।
१६ जेठ देखि २४ जेठसम्म देशभर सञ्चालित कक्षा १२ को परीक्षा प्रकाशनको अन्तिम तयारीमा बोर्ड जुटेको छ । लेटर ग्रेडिङ पद्धति २०७८ अनुसार यसवर्षको नतिजा सार्वजनिक गर्ने तयारी छ ।
उक्त पद्धतिअनुसार प्रत्येक विषयको सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक नल्याए ग्रेडसिटमा नन ग्रेडिङ एनजी उल्लेख हुन्छ । यसअघि पनि बोर्डले १.६ भन्दा कम जीपीए ल्याउने विद्यार्थीलाई ग्रेडसिट मात्रै उपलब्ध गराउने गरेको थियो ।
यस्ता विद्यार्थीले ग्रेडवृद्धि परीक्षामा सहभागी हुने अवसर भने पाउनेछन् । यस वर्ष ४ लाख १० हजार ५० जना विद्यार्थी परीक्षामा सहभागी भएका छन् ।