गोविन्द सुवेदी,
पोखरा ।
गण्डकी प्रदेशका उपभोक्ताले दुग्ध विकास संस्थान (डीडीसी)ले उत्पादन गर्ने दूध, दही र ध्युसहित विभिन्न दुग्धजन्य पदार्थ उपायोग गर्न नपाएको दशकौं भइसक्यो । २०६०/०६१ मा सरकारले पोखरा दुग्ध वितरण आयोजना निजीकरण गरे यता गण्डकी प्रदेशका उपभोक्ताले डीडीसीको उत्पादन उपभोग गर्न बञ्चित भएका हुन् ।
पोखरामा दुग्ध वितरण आयोजना निजीकरण गरेको ठिक १० वर्षपछि आर्थात २०७१/०७२ मा आफ्ना उत्पादन गण्डकीका उपभोक्तालाई उपलब्ध गराउन तयारीसहित गरेको प्रयास विफल भएको थियो । त्यस यता संस्थानले गरेका निरन्तरका प्रयासले अझै सफलता पाउन सकेको छैन ।
२/४ रुपैयाँ भएपनि सस्तो र अन्य उत्पादनभन्दा गुणस्तरीय मानिने डीडीसीका उत्पादन पोखरामा छिर्न नदिन निजी व्यवसायी बाधक बनेको उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइराला बताउँछन् । ‘डीडीसीले पोखरामा पुन आफूलाई स्थापित गर्न पटक–पटक प्रयास गरेको देखिन्छ तर, यहाँका व्यवसायीले डीडीसीको प्रवेशलाई बाधा पु¥याईरहेका छन्’ उनले भने, ‘जसका कारण २/४ रुपैयाँ भएपनि सस्तोमा गुणस्तरीय दुग्धजन्य पदार्थ उपभोग गर्ने यहाँका उपभोक्ताको अधिकार कुन्ठित भइरहेको छ ।’
निजीकरण नहुँदासम्म डीडीसीले पोखरामा दैनिक १० हजार लिटर दूध बेचिरहेको थियो । अहिले सिर्जना चोकमा एउटा सानो विक्री केन्द्र सञ्चालन गरिएको भएपनि त्यहाँबाट आधारभूत उत्पादन दुध, दही तथा मही समेत विक्री हुन सकेको छैन । दूध दही काठमाडौं, हेटौंडा र बुटवलबाट ल्याउनुपर्ने हुँदा पोखरामा विक्री सम्भव नभएको दुग्ध विकास संस्थानका उप–महाप्रबन्धक एवं सुचना अधिकारी राजेन्द्र प्रसाद अधिकारी बताउँछन् ।
‘हाम्रा उत्पादन गण्डकीमा विक्री वितरणमा छैनन् भन्दापनि हुन्छ । सिर्जना चोकमा ०७१ देखि नै एउटा विक्री केन्द्र त छ, तर त्यहाँ दूध, दही र मही नै विक्री गर्न सकेका छैनौं । दूध र दहीको रेगुलर बजारिकरण नगर्दासम्म विक्री हुन नै सम्भव छैन । काठमाडौं, हेटौंडा र बुटवलबाट दूध र दही ल्याएर त्यहाँ बेच्न सम्भव हुने कुरै भएन ।’
निजी क्षेत्रसंगै सहकारी पनि विरोधमा !
पोखरामा डीडीसीले आफ्नो मार्केटिङसहित १६ फागुन २०७१ मा पोखरामा पुन आफ्नो सेवा दिने तयारी थियो । त्यसका लागि हालका उप-महाप्रबन्धक राजेन्द्र प्रसाद अधिकारी पोखरा प्रमुख भएर आएर तयारी समेत अगाडि बढाएका थिए । डीडीसीले पोखरामा तत्कालका लागि पन्थी डेरीको प्लान्ट उपयोग गर्ने योजना बनाएर सम्झौता प्रक्रिया समेत अगाडि बढेको पन्थी डेरीका सञ्चालक रेसम पन्थी स्मरण गर्छन् । ‘हाम्रो प्लान्ट युज गर्ने भनेर सहमति भइसकेको थियो । विरोध भएपछि डीडीसी सम्झौता तोडेर फर्किएको हो’ पन्थीले स्मरण गरे ।
त्यतिबेला पोखरामा सञ्चालित डेरी उद्योग र पोखरा उद्योग वाणिज्य संघसहितका निजी क्षेत्रको तर्फबाट डीडीसी फिर्ता हुनुपर्ने आवाज उठेको थियो । त्यही दवाव पछि डीडीसी फिर्ता भएको हो । पोखरा आएर मार्केटिङ नै सुरु गरेका हालका दुग्ध विकास संस्थानका उप–महाप्रवन्धक राजेन्द्र प्रसाद अधिकारी त्यतिबेला कृषिमन्त्री समेत आफ्नै जिम्मेवारीमा राखेका प्रधानमन्त्री डा. बाबुराम भट्टराईको ठाडो निर्देशन पछि आफू पोखरा बाट फर्किएको स्मरण गर्छन् ।
उनका अनुसार तत्कालिन प्रधानमन्त्री डा. भट्टराईले तत्कालिन महाप्रबन्धक सियाराम प्रकास सिंहलाई पोखराबाट तत्काल फिर्ता हुन निर्देशन दिएपछि सिंहले आफूलाई प्रधानमन्त्री ज्युले पोखराबाट फर्कन निर्देशन दिएको भन्दै उनलाई फिर्ता बोलाइएको थियो । ‘म र मेरो टिम पोखरा आएर मार्केटिङमा जुटिसकेको थियो । तत्कालिन महाप्रबन्धक ज्युले प्रधानमन्त्रीले मलाई तत्काल फिर्ता हुनुहोस भन्नुभयो तपाई आउनुहोस भनेपछि म पोखराबाट फर्केको हुँ’ उपमहाप्रवन्धक अधिकारीले स्मरण गरे ।
जिल्ला विकास समिति कास्कीका पूर्व सभापति समेत रहेका सप्तगण्डकी दुग्ध उत्पादन सहकारी संघका अध्यक्ष पुण्य पौडेलले त्यतिबेला आफूहरुले डीडीसी आउन नदिएको स्विकार गर्छन् । ‘भएको उद्योग नै निजी क्षेत्रलाई बेचेपछि किन फेरी आउनुप¥यो भनेर हामीले विरोध गरेकै हो’ उनले भने ।
पौडेल अहिले पनि डीडीसी पोखरामा आउन नहुने बताउँछन् । भएको उद्योग निजीकरण गरेको र अहिले गण्डकीमा दुग्ध उत्पादन प्रसस्त रहेकाले डीडीसी आवश्यक नरहेको उनको जिकिर छ । ‘हिजो पनि गण्डकीमा डीडीसीले सहकारीलाई दुध दिएन । प्राइभेटलाई बेच्यो । अनि किन आउँछौं भनेको हो ? राष्ट्रिय पुँजीपतिलाई नल्याएको भए हुन्थ्यो । अर्को उद्योग खोलिने छैन ल्याइने छैन भनेर डीडीसीले सम्झौता गरेको छ, अनि किन फेरी ल्याउने ?’ उनले प्रश्न गरे ।
जसरीपनि पोखरा आउने तयारी
डीडीसीका कर्मचारीहरु भने पोखरामा जसरी पनि डेरी संचालन गर्ने र निजी क्षेत्रको लुट तथा एकाधिकारलाई तोड्ने प्रतिबद्धता जनाएका छन् । एक कर्मचारीका अनुसार डीडीसीलाई पोखरा ल्याउयन संस्थानका सबै कर्मचारीहरुको ऐक्यबद्धता छ ।
प्रवक्ता राजेन्द्र प्रसाद अधिकारी पनि डीडीसी पोखरा भित्र्याउने तरखरमा रहेको बताउँछन् । ‘हाम्रो सधैं ध्यान पोखरामा कसरी डीडीसीलाई ल्याउने भन्ने नै छ । हालका महाप्रबन्धक मात्र होइन संस्थान हाँक्न आउने यस अगाडिका महाप्रबन्धकको पनि पोखरा डीडीसी भित्र्याउने महत्वपूर्ण एजेण्डा बनेकै हो । यसपाली हामी थप तयारी गरिरहेका छौं । छिट्टै पोखरामा डीडीसीको सेवा विस्तारको योजनामा छौं । त्यसका लागि जग्गा खोजी समेत भएको छ’ उनले भने ।