एमाले कुनै प्रकारको गठबन्धनको पक्षमा छैन : महासचिव पोखरेल

केन्द्रभाग मिडिया

काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एमाले कुनै प्रकारको गठबन्धनको पक्षमा नरहेको बताएका छन् । एमाले प्रचार तथा प्रकाशन विभागद्वारा सोमबार काठमाडौंमा आयोजित पत्रकारसँग अन्तरसंवाद कार्यक्रममा महासचिव पोखरेलले भने, “कुनै राजनीतिक दलसँग गठबन्धनको कुरा गरेका छैनौँ । चुनावी तालमेलका लागि खुला छौँ। जहाँसम्म देशभक्त, प्रगतिशिल, वामपन्थी ध्रुविकरणको कुरा भनेको राजनीतिक ध्रुविकरणको कुरा हो, गठबन्धनको कुरा होइन ।”

अहिले राजनीतिक दलहरुले सुल्झाउन नसकेका प्रश्नहरुलाई सुल्झाउन एमाले निरन्तर रुपमा लागिपरेको उनले दाबी गरे । एमालेले विगतमा प्रतिनिधिसभा भंग गरेर चुनावमा जाने प्रयास गरेको स्मरण गर्नुहुँदै । अहिले जनतामा जान पाएकाले चुनावको माध्यमबाट नेतृत्वलाई स्थापित गर्न चाहेको उनले बताए ।

“विस्तृत कार्ययोजनाका साथ जनताका बीचमा जान चाहेका छौँ । नेपालको राजनीतिक सन्दर्भमा राजनीतिक ध्रुविकरणको दिशातर्फ लान चाहन्छौँ। आर्थिक, सामाजिक विकास र परिवर्तनतर्फ लाने हो भने आउने निर्वाचनमा बहुमत प्राप्त सरकार गठन गर्ने योजनाका साथ लागिरहेको कुरा तपाईंहरुका बीचमा राख्न चाहन्छौँ”, पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीको उम्मेदवारको रुपमा जनताको बीचमा राख्न चाहेको उनले भने ।

मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि अध्यक्ष ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटीमार्फत् चुनावी तयारी तीव्र रुपमा अघि बढेको पनि पोखरेलले उल्लेख गरे ।

  • १३ भाद्र २०७९, सोमबार १६:३४ प्रकाशित