काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्सी बुधबारसम्ममा गठबन्धनभित्र सीट भागबन्डाको टुंगो लाग्ने बताएका छन् । पार्टीको उपत्यका विशेष कमिटीको बैठकमा बोल्दै सीट संख्या टुंग्याउने नजिकनजिक पुगेको उनले बताएका हुन् ।
‘आज बिहान काँग्रेसका नेता र गठबन्धनका नेताहरुसँग कुरा भएको छ । पर्सीसम्म सीट संख्या टुंग्याउने भन्ने छ । सीट संख्या टुंग्याउने नजिक नजिक पुगेका छौ । अब टुंगो लाग्छ’, प्रचण्डले भने, ‘पहिलो स्टेपमा संख्या टुङ्ग्याउँछौँ । भदौ २० गतेसम्ममा कुन क्षेत्र माओवादी, कुन क्षेत्र काँग्रेसलाई, कुन क्षेत्र एकीकृत समाजवादी, जसपा र जनमोर्चालाई भनेर क्षेत्र र प्रदेश टुङ्ग्याउँछौँ ।’
प्रचण्डले तीन स्टेपमा गरेर चुनावी तालमेलको प्रक्रिया टुंगो लगाउने बताए ।
आगामी भदौ २५ गतेसम्म गठबन्धनका सबै दलले आ–आफ्नो पार्टीको उम्मेदवार फाइनल गर्ने प्रचण्डले दाबी गरे । चुनावको तीन स्टेप टुंगो लगाएर चुनावी अभियानमा लाग्ने प्रचण्डले बताए ।













