काठमाडौं ।
आज तीजको पहिलो दिन । घरघरमा नेपाली महिलाले आज दर खाने भएका छन् ।
हरितालिका (तीज) व्रतको तयारी स्वरुप आज दर खाने गरिन्छ । दरखाने दिनसँगै चार दिने तीज पर्व आजदेखि सुरु हुन्छ ।
विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ । माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा छ । दरका रुपमा विशेषगरी दुधबाट बनेका शुद्ध परिकार खाइन्छ ।
तीजको दिन भोलि भने महिलाहरु व्रत बस्ने गर्छन् । व्रत बस्न सक्नेले निराहार बस्ने भएकाले आज वर्तालुहरुले शक्ति प्राप्तिका लागि मीठा मीठा एवं आडिलो परिकार दरका रुपमा खाई मङ्गलबारको व्रतका लागि पूर्वतयारी गर्छन् ।
विशेषगरी माइती एवं दाजुभाईले छोरी, चेली, दिदी बहिनीलाई बोलाई दर खुवाउने गर्दछन् । दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा.डा.रामचन्द्र गौतम बताउँछन् ।
महिलाहरुले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमा समेत तीजलाई उपयोग गर्ने गरेका छन् । तीजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाहरुले सार्वजनिक गर्दछन् । जन्मघरबाट कर्मघरमा गई बस्दा पाएका दुःख, पीर, मर्कालाई नारीले पोख्ने गरेका छन् ।
तर पछिल्लो समय महिलाहरुको तीज भड्किलो बन्दै गएको छ । नेपाली कला संस्कृतिको जगेर्ना भन्दा पनि देखासिकी गर्ने प्रचलनले तीज भड्किलो बनेको छ ।
यस्तै तीजको छेकोमा भड्किला र उत्ताउला भिडियोहरु टिकटकमा भाइरल हुदाँ निकै आलोचना भएको छ ।














