पोखरा ।
गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले संस्कृतिमा नेपालीपन हराउदै गए राष्ट्रियता समेत हराउन सक्ने खतरा भएको बताएका छन् । सराङकोटमा आइतबार देखि सुरु प्रथम तीज मेलाको उद्घाटन गर्दै मन्त्री बरालले राष्ट्रियता भनेको भूगोल मात्र नभई संस्कृतिसंग समेत जोडिएको बताए । उनले कुनै देशको संस्कृति हराउदा राष्ट्रियता नै हराउन सक्ने खतरा हुने धारणा राखे ।
नेपालीपन र नेपाली संस्कृति हराएमा नेपालको राष्ट्रियता हराउने उनको दाबी थियो । तीजले नेपाली भाषा, समाजको सथार्थता छर्रलङग पार्न सक्नुपर्ने बताउदै मन्त्री बरालले समाजको ऐन तीज गीतमा झल्कनुपर्नेमा जोड दिए । इतिहास हेर्दा कृषि पर्वको रुपमा तीज पर्वलाई मनाउदै आएको मन्त्री बरालको भनाई छ ।
नेपाली संस्कृतिलाई हामीले संरक्षण गर्नुपर्ने बताउदै मन्त्री बरालले पछिल्लो समयमा तिजमा विकृति बढ्दै गएको दाबी गरे । तीजमा हुने गरेको विकृतिलाई अन्त्य गर्न नसके तिज नेपाली परम्पराको पर्व नभई अन्य कसैको पर्वको रुपमा हुन सक्ने खतरा रहेको उनको भनाई थियो । एक महिना देखि विभिन्न वहानामा दरखादै हिड्नु, विभिन्न प्रकारका नृत्य प्रर्दशन गर्नु कति उचित हो ? के हाम्रो यस्तै संस्कृति हो ? भन्दै मन्त्री बरालले प्रति प्रश्न गरे ।
अधिकार प्राप्तिसंगै आम नागरिकहरुलाई अब कर्तव्य पालना गराउन उत्प्रेरणा जगाउनु पर्ने समय आएको उनको भनाई थियो । निर्वाचनका वेला सराङकोटमा पिउने पानीको व्यबस्था मिलाउन प्रयास गर्छु भनेकोमा हाल करिब ९५ प्रतिशत खानेपानीको व्यबस्था भएको मन्त्री बरालको दाबी थियो । नेपाली कागेंसकी नेतृ शारदा पौडेलले सराङकोटबासीलाई विकास र समृद्धिको लागि एक हुन आग्रह गरे ।
मञ्चका अध्यक्ष महेशकुमार तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पोखरा १८ का अध्यक्ष शिव तिमिल्सिना, राष्ट्रिय भूमि आयोग कास्कीका प्रवक्ता आसबहादुर गुरुङ, कागेंस नेता डिल्लिराम तिमिल्सिना, नेकपा माओबादी केन्द्रका नेता राजु शर्मा तिमिल्सिना, पुर्णाखर तिमिल्सिना, नेकपा एकिकृत समाजबादीका नेता गंगाधर तिमिल्सिना, मञ्चका पूर्व अध्यक्ष कृष्ण प्रसाद तिमिल्सिना जोशी लगायतले बोलेका थिए ।