काठमाडौं ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री उम्मेदवारको रुपमा अघि सार्दै चुनावी अभियान सञ्चालन गर्ने नेकपा एमालेले निर्णय गरेको छ । शुक्रबारदेखि चलेको एमाले केन्द्रीय कमिटीको बैठक ओलीको नेतृत्वमा बहुमतको सरकार निर्माण गर्ने प्रस्ताव पारित गर्दै शनिबार सम्पन्न भएको हो ।
बैठकले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनलाई पारित गरिसकेको छ । त्यसैगरी बैठकले उम्मेदवारको मापदण्ड, सिफारिसको मिति समेत तोकेको छ ।
यसैबीच अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित बनेका नेताहरूलाई यसपटक दोहोर्याएर समानुपातिक उम्मेदवार नबनाउने पनि एमालेले निर्णय गरेको छ ।
बैठकले नेकपा एमालेले चुनावी वामपन्थी गठबन्धनका लागि आह्वान गरेको छ । ‘वामपन्थी शक्तिहरु एक भएर गयौ भने देशमा परिवर्तनका लागि सहज हुन्छ । बहुमतको सरकार निर्माण गरेर राजनीतिक स्थायित्वको राष्ट्रिय संकल्प खोजेका छन्,’ पोलिटब्युरो सदस्य विशाल भट्टराईले भने, ‘त्यस्तो समयमा छरपष्ट भएर अघि बढ्नु हुँदैन भनेर आह्वान गरिएको हो ।’














