काठमाडौं ।
नेकपा एमालेको पोलिटब्युरो बैठक सकिएको छ । एमालेले भोलि(शुक्रबार)बाट बस्ने केन्द्रीय कमिटी बैठकका लागि ११ एजेण्डा तयार गरेको जनाइएको छ।
बिहीबार बसेको पोलिटब्युरो बैठकले केन्द्रीय कमिटी बैठकका लागि ११ एजेण्डा तय गरेको पार्टी प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
गुरुङको अनुसार पहिलो एजेण्डाका रुपमा अध्यक्ष केपी शर्मा ओलीको लिखित राजनीतिक प्रतिवेदन पेससहित त्यसमा ग्रुप विभाजनमार्फत छलफल गर्ने, मनोनित गरेका केन्द्रीय सदस्यहरुलाई सपथ गराएर बैठकमा सहभागी गराउने दोस्रो एजेण्डा रहेको छ ।
त्यस्तै यसअघि पार्टी सचिवालयले गरेका निर्णयहरु पेश गर्ने तेस्रो एजेण्डा रहेको छ भने उम्मेदवार छनोटको मापदण्ड र प्रक्रिया चौथो एजेण्डा बनेको प्रचार विभाग प्रमुख गुरुङले जानकारी दिए । त्यस्तै पाँचौ एजेण्डामा स्थानीय निर्वाचनका सम्वन्धमा छानविन गर्न उपाध्यक्ष विष्णु पौडेल नेतृत्वको छानविन समितिको प्रतिवेदन पेश गर्ने र छैठौं एजेण्डामा दोहोरिएका पार्टी संगठित सदस्यलाई व्यवस्थापन गर्ने रहेको छ ।
केन्द्रीय सल्लाहकार परिषद र तीन आयोगको रिपोर्ट अनुमोदन गर्ने सातौं एजेण्डा र भारत प्रवासको नियमावली पास गर्ने आठौं एजेण्डा बनाएको एमालेले पार्टी विभाग परिचालनका सम्वन्धमा केही नियमहरु पारित गर्ने एजेण्डा तय गरेको छ । त्यसैगरी मनोनित केन्द्रीय कमिटीका सदस्यको कार्यविभाजन पनि एमाले केन्द्रीय कमिटी बैठकले गर्नेछ ।
११ औं एजेण्डाका रुपमा समसामयिक राजनीतिक प्रतिवेदन पारित गर्ने रहेको गुरुङले जानकारी दिए ।














