सिरहा ।
कांग्रेसका स्वर्गीय नेता प्रदीप गिरिले जितेको क्षेत्र सिरहा क्षेत्र नम्बर १ मा उनका बुहारी सरिता गिरिले उम्मेदवारी दिने घोषणा गरेकी छिन् ।नेपाल सद्भावना पार्टीबाट राजीनामा दिएकी गिरीले आज सिरहा क्षेत्र नम्बर-१ बाट चुनाव लड्ने घोषणा गरेकी हुन् ।
सरिता गिरी नेपाली काँग्रेसका नेता प्रदीप गिरिको भाइ बुहारी हुन् । प्रदीप गिरिको निधन भए लगत्तै उनीले नेपाल सद्भावना पार्टीबाट राजीनामा दिएकी थिइन् । उनी एक महिनाअघि नेपाल सद्भावना पार्टीमा प्रवेश गरेकी थिइन् ।
उनी आफू स्वतन्त्र व्यक्तिको रुपमा उम्मेदवारी घोषणा गरेकी बताइन् । उनले भनिन्, म स्वतन्त्र व्यक्तिको रुपमा उम्मेदवारी घोषणा गरेको छु, भोलि के हुन्छ त्यो भोलिको कुरा हो ।’ काँग्रेसबाट चुनाव लड्ने हो कि भन्ने जिज्ञासामा उनले आफू अहिले स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गरेको बताइन् ।
नेपाली काँग्रेसका नेता प्रदीप गिरिको निधनपछि सरिता गिरीले आफूलाई त्यहाँ उनको उत्तराधिकारीको रुपमा देखाएकी छिन् । तर उनले आफू प्रदीप गिरिको उत्तराधिकारी नरहेको बताएकी छिन् । उनले प्रदीप गिरिले देखेको सपना, उनले लिएको उद्देश्यलाई पूरा गर्न आफ्नो प्रयत्न रहने बताइन् ।














