पोखरा ।
गण्डकी प्रदेशसभामा चालु अधिवेशनको अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिवेशनको बुधबार अन्त्य गरेका हुन् । प्रदेश प्रमुख गुरुङले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम अधिवेशनको अन्त्य गरेका हुन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गण्डकीको बजेट अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।
प्रदेशसभाको हिउँदे अधिवेशन अब नयाँ प्रदेशसभा सदस्यहरू आएपछि सञ्चालन हुनेछ । सरकारले मंसीर ४ गतेका लागि प्रदेश सभाको निर्वाचन गर्ने घोषणा गरिसकेको छ ।
नेपालको इतिहासमा नै पहिलोपटक कार्यान्वयनमा आएको प्रदेश सरकार र सभाका सदस्यहरूको कार्यकाल अन्तिमतिर चरणमा पुगेको छ ।
प्रदेश सभामा ६१ वटा विधेयकहरू दर्ता, ५६ पारित, ५६ प्रमाणीकरण, र ५ वटा विधेयक विचाराधीन रहेका छन् । आमसञ्चारसम्बन्धी विधेयक र केही गण्डकी प्रदेश कानुन संशोधन गर्न बनेको ऐन स्वतः निष्क्रिय हुने भएको छ ।














