काठमाडौं ।
नेकपा एमालेले आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवार छनोटको मापदण्ड बनाउन लागेको छ । एउटै ब्यक्ति लगातार पदमा रहिरहने तर योग्य भएपनि अरुले अवसर नपाउने प्रबृत्तिको अन्त्य गर्न एमालेले केही कडाई गरेर मापदण्ड बनाउन लागेको हो ।
आज बसेको स्थायी कमिटी बैठकले तीन मापदण्ड अघि सार्दै सुझाव मागेको छ । आजको बैठकमा आसन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने मापदण्डमाथि छलफल गर्दै तीन बुँदे सुझाव संकलन गर्ने निर्णय भएको उपमहासचिव एवं प्रचार बिभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।
गुरुङका अनुसार स्थायी कमिटी सदस्यलाई दिइएको मस्यौदामा केही बुँदामा प्रश्न राखिएको छ । त्यसमा बहुसंख्यक सदस्यको जे राय आउँछ, सोही बमोजिम निर्णय लिने अध्यक्ष केपी शर्मा ओलीको योजना छ । उपमहासचिव गुरुङका अनुसार उम्मेदवार छनोटका लागि तीन मापदण्डमा एमालेभित्र छलफल भइरहेको छ ।
जसअनुसार हाल प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिकबाट सांसद रहेकाहरूलाई सोही ठाउँमा पुनः उम्मेदवार बनाउने कि नबनाउने भन्ने सुझाव सदस्यहरूबाट मागिएको छ । यसैगरी यसअघि एक वा सो भन्दा बढी पटक समानुपातिक सांसद भएकाहरूलाई सोही कोटामा फेरि उम्मेदवार बनाउने कि नबनाउने भन्ने सुझाव पनि मागिएको छ ।
त्यस्तै राष्ट्रियसभाका सांसदलाई प्रतिनिधिसभा वा प्रदेशसभाको सदस्यमा उम्मेदवार बनाउने कि नबनाउने भन्नेबारे पनि एमालेले राय मागेको छ । यस्तै स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेकाहरुलाई प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवार बनाउने कि नबनाउने भन्ने बिषयमा पनि सुझाव मागिएको छ ।
एकै ब्यक्तिपटक पटक उम्मेदवार बन्दा जनताले पराजीत गरेको स्थानीय तह निर्वाचनको तथ्यको आधारमा यस्तो सुझाव मागिएको हो । एमालेभित्र एक पटकभन्दा बढी समानुपातिकमा अवसर नदिन र राष्ट्रियसभामा रहेको सदस्यलाई राजीनामा दिएर उम्मेदवार नबनाउन चर्को दवाव छ भने स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेकाहरुलाई पनि टिकट दिन नहुने मत अधिकांश कार्यकर्ताको छ ।














