काठमाडौं ।
वन तथा वातावरण मन्त्री प्रदिप यादवले जे गर्दा पनि गाली खानुपरेको भन्दै दुखेसो गरेका छन् । उनले आफूले मन्त्रालय जिम्मा लिएको ४५ दिन मात्रै भएको र यी दिनमा जे गर्दा पनि गाली मात्रै खाने गरेको भन्दै गुनासो गरेका हुन् ।
नेपाल वातावरण पत्रकार समुह ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले रुख काट्न दिँदा पनि गाली र नदिँदा पनि गाली खानुपरेको गुनासो गरेका हुन्। ‘रुख काटन नदिऊँ विकास विरोधी भन्छन् काट्न दिऊँ जगंल विनाश भयो भने गाली खाने अवस्था छ ।’
आफूले काम गरेको ४५ दिन बितिसक्दा पनि कर्मचारीहरुसँग काम लिन निकै गाह्रो भएको उनको भनाई छ । उनले भने, ‘मैले अघि बढाएको फाइल १७ दिनसम्म कर्मचारीको टेबलबाट अघि बढ्न सकेको छैन । म थुप्रै चुनौती लिएर अघि बढिरहेको छु ।’














