अर्थर गन नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त

केन्द्रभाग मिडिया

काठमाण्डौ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अमेरिकन आइडलको उपविजेता बन्न सफल गायक दिवेश पोखरेल (अर्थर गन) लाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त गरेको छ ।

आइतवार मन्त्रालयमा आयोजित कार्यक्रममा संस्कृतिमन्त्री जीवनराम श्रेष्ठले पोखरेललाई विश्व सद्भावना दूत नियुक्त गरेको घोषणा गरे ।

कार्यक्रममा नेपाललाई विश्व सामु चिनाउन महत्त्वपूर्ण योगदान दिएकोले पोखरेललाई सम्मान गरिएको थियो । पोखरेललाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत घोषणा गर्न पाउँदा खुसी लागेको बताउदै मन्त्री श्रेष्ठले आफ्नै प्रतिभामार्फत नेपाललाई विश्वमा चिनाउन महत्त्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरे ।

काठमाण्डौको रवि भवनमा जन्मेर उच्च शिक्षा अध्ययनको सिलसिलामा सन् २०१४ मा अमेरिका गएका पोखरेल अमेरिकन आइडलु को स्टेजमा दमदार उपस्थिति जनाइ लोकप्रिय बनेका थिए । मन्त्री श्रेष्ठले विभिन्न विधामा रहेका नयाँ प्रतिभाहरूले नेपाललाई विश्वमै नयाँ पहिचान दिन सफल भएको बताए ।

प्राकृतिक सुन्दरता, जैविक तथा सांस्कृतिक विविधताले भरिपूर्ण नेपालमा रहेका सर्वोच्च शिखर सगरमाथा, भगवान् बुद्धको जन्मभूमि लुम्बिनी, सीताको जन्मस्थल जनकपुरसहित अन्य विभिन्न धार्मिक क्षेत्र पशुपतिनाथ, मुक्तिनाथका साथै अन्य प्राकृतिक र सांस्कृतिक सम्पदाहरूको प्रचारप्रसारमा पोखरेलले भूमिका खेल्ने मन्त्री श्रेष्ठले विश्वास व्यक्त गरे ।

विश्व सद्भावना दूत नियुक्त भएपछि पोखरेलले सङ्गीतमार्फत नेपालको पर्यटन तथा संस्कृति प्रवर्द्धनमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।

  • ५ भाद्र २०७९, आईतवार १८:३२ प्रकाशित