चितवन ।
चितवनको इच्छाकामना–४ कुरिनटारमा आज बिहान भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।
बिहान करिब ३ बजेको समयमा ट्रकको पछाडि मोटरसाइकल ठोक्किंदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
काठमाडौंबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख ५९१३ नम्बरको ट्रकमा सोही दिशाबाट आउँदै गरेको बा ८८ प ५३०१ नम्बरको मोटरसाइकल ठोक्किंदा दुई जनाको ज्यान गएको छ ।
मोटरसाइकल चालक दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–६ का २५ वर्षीय सरोज रोकाया र पछाडि सवार काठमाडौंका ३२ वर्षीय सरोज माझीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनीहरूको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।ट्रक र चालक इलाका प्रहरी कार्यालय मुग्लिनको नियन्त्रणमा छन् ।














