पोखरा ।
पोखरा महानगरपालिका वडानम्बर ८ नयाँबजारमा निर्माण भएको बहुउदेश्यीय सामाजिक भवनको उद्याटन गरिएको छ । गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापा र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन गरे ।
गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले नयाँबजार बहुउद्देश्यीय सामाजिक भवन निर्माणले स्थानीयलाई सहजता मिल्ने बताए ।
‘पोखरा ८ नयाँबजार दमकल मार्गमा निर्माण भएको बहुउद्देश्यीय सामाजिक भवनले स्थायी वा अस्थायी रुपमा बसोबास गर्ने जनताहरुलाई लाभ मिल्नेछ’, थापाले भने, ‘सामाजिक,धार्मिक लगायतका कार्यक्रमहरुका लागि भवनका माध्यम सहजता मिल्नेछ ।’
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले महानगर र दमकलमार्ग बासीमा हिजो देखिएका तित्ततालाई मेट्दै जाने प्रतिबद्धता व्यक्त गरे। आचार्यले नयाँबजारमा स्थापना गरिएको बहुउद्देश्यीय सामाजिक भवन सामाजिक तथा धार्मिक प्रयोजनका लागि उपयोगमा आउने विश्वाल व्यक्त गरे ।
पोखरा महानगरपालिका वडा नं ८ का वडाध्यक्ष रुद्रनाथ बरालले आफ्नो वडामा स्थानीयको पहलमा सामाजिक भवन निर्माण हुनु आफैमा महत्वपूर्ण भएको उल्लेख गरे ।
सरस्वती मन्दिर निर्माण उपसमितिकी अध्यक्ष राधा थापाले एतिहासिक मान्यता बोकेको दमकल मार्गको अस्तित्व जोगाउन मन्दिरको स्थापना गरिएको बताइन् ।
कार्यक्रममा नयाँबजार बहुउद्देश्यीय सामाजिक भवन निर्माण मूल समितिका कोषाध्यक्ष पूर्ण बहादुर राना मगरले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । उनका अनुसार सामाजिक भवन निर्माणमा २ करोड ६ लाख ३७ हजार ६ सय ५१ रुपैयाँ खर्च भएको छ । २ करोड १९ लाख ४३ लाख २ सय ८२ आम्दानी हुँदा बैंक मौज्दात १३ लाख ६१ हजार १ सय ४१ रहेको जानकारी उनले बताए ।
महासचिव धिरज थापाले समितिले गरेका कार्यहरुको बारेमाजानकारी दिएका थिए । राम बहादुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ब्रह्माकुमार इश्वर विद्यालयकी शोभा दिदी लगायतले बोलेका थिए ।














