काठमाडौं ।
संघीय र प्रदेशको चुनावको मिति तोकिएसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावी तालमेलका लागि दौडधुप गर्न थालेका छन् । आज ओली र जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीबीच भेटवार्ता भएको छ ।
सोमबार एमाले अध्यक्ष ओलीको निवास, बालकोटमा भएको भेटमा नागरिकता विधेयक र चुनावी गठबन्धनबारे कुराकानी भएको त्रिपाठीले बताए ।
राष्ट्रिय जनता पार्टी छाडेर स्वतन्त्र राजनीतिक समूह बनाएका त्रिपाठी र वृजेशकुमार गुप्ताले २०७४ को प्रतिनिधिसभा चुनावमा पनि सूर्य चिह्न लिएर प्रतिस्पर्धा गरी निर्वाचित भएका थिए । त्रिपाठी ओली सरकारमा छोटो समयका लागि स्वास्थ्य तथा जनसंख्यमन्त्री बनेका थिए ।
गुप्ता एमाले प्रवेश गरिसके भने त्रिपाठीले आफ्नो नेतृत्वमा जनता प्रगतिशील पार्टी बनाएका छन् ।सोमबार भएको भेटमा चुनावमा ‘मिलेर जाऊँ’ भन्ने कुराकानी भएको त्रिपाठीले सुनाए । समानुपातिक र प्रत्यक्ष निर्वाचनको वर्तमान निर्वाचन प्रणालीबाट कुनै पनि दलको बहुमत नआउने भएकाले गठबन्धन अनिवार्य भएको उनले सुनाए ।














