काठमाडौं ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रवासमा पार्टीको जनमत बढाउने गतिविधि गर्न र आगामी निर्वाचनमा स्वदेश आउन प्रवासमा रहेका नेपालीलाई आग्रह गरेका छन् ।
पार्टीको केन्द्रीय प्रवास विभागको आयोजनामा भएको प्रवासी नेपाली एकता समाज ९पानस० को अन्तर्राष्ट्रिय समिति र विभिन्न २७ देशका राष्ट्रिय समन्वय समितिको भर्चुअल बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले चुनावको बेला भोट हाल्न नेपाल आउन आग्रह गरेका हुन् ।
मतबाटै देशको अवस्था बदल्न सकिने भन्दै लिङ्देनले चुनावको बेला नेपाल आउन आग्रह गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । ‘अहिले नै नेपाल आउँदै हुनुहुन्छ भने केही समय पर सार्नुस् र निर्वाचनको बेला नेपाल आउनुस्, चुनावी अभियानमा सहभागी हुनुस् भनेर अध्यक्षज्यूले प्रवासी नेपालीहरुलाई भन्नुभयो,’ प्रवक्ता श्रेष्ठले भने ।
सरकारले आगामी मंसिर ४ गते एकै चरणमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्ने निर्णय गरिसकेको छ ।














