भैरहवा ।
गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयक अविलम्ब स्वीकृत हुनुपर्ने बताएका छन् ।
भैरहवामा आयोजित कार्यक्रममा खाणले प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भइसकेको नागरिकता विधेयक अझै पनि किन स्वीकृत नभएको हो रु सो विषय आफूहरूले बुझ्नै नसकेको बताए ।
उनले पटक–पटकको छलफलपछि सबै राजनीतिक दलको सहमतिमा ल्याइएको नागरिकता विधेयक स्वीकृत गर्न आग्रह गरेका छन् ।
एमालेकी पूर्वउपाध्यक्ष समेतरहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक रोकेर राखेकी छिन् । भण्डारीले राजनीतिक पूर्वाग्रही भएर विधेयक रोकेर राखेको आरोप छ ।
सीमाको रक्षा गरेर बसेका नेपाली नागरिकका सन्तान आफ्नै देशमा अनागरिक भएर बस्नुपरेको पीडाबारे उल्लेख गर्दै गृहमन्त्री खाणले विधेयक स्वीकृतपश्चात् सरकारी स्वामित्वमा रहेका कार्यालयमा जागिर, उद्योगी, व्यवसायी बन्नसक्ने बताए ।
वर्तमान समयमा नेपाली आमा–बाबुका करिब ६ लाख सन्तानहरू नागरिकताबाट वञ्चित भएकाले उनीहरूलाई नेपाली नागरिक भएको अनुभूति दिलाउन पनि नागरिकता विधेयक स्वीकृत हुन आवश्यक रहेको बताए ।
उनले पूर्व सरकारले ल्याएको विधेयकमा सार्क मुलुकबाहेकका राष्ट्रमा बस्ने नेपालीहरूले प्राप्त गर्ने नागरिकताको विषयमा मात्र संशोधन गरी अन्य विषयहरू जस्ताको त्यस्तै रहेको बताए ।
यसैबीच, गृहमन्त्री खाणले जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीद्वारा आयोजित कोभिड–१९ रोगविरुद्धको पूर्ण खोप र १५ महिनामुनिका बालबालिकाहरूको नियमित खोप दीगोपना सुनिश्चित जिल्ला घोषणा गरेका छन् ।
खाणले नेपालको स्वास्थ्य क्षेत्रमा महिला स्वयम सेविकाहरूको ठूलो भूमिका रहेको बताए ।
स्वयंसेविकाहरू सेवानिवृत हुँदासमेत उनीहरूको जीवनयापन गर्न सहज होस् भन्ने उद्देश्यले निवृतिभरणको ब्यवस्था गर्नसमेत सरकारमा पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।













