काठमाडौं ।
देशभर नै शुक्रबारबाट गाईजात्रा पर्व मनाउन शुभारम्भ गरिएको छ।
प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज शुक्रवार विभिन्न कार्यक्रमको आयोजना गरी देशभर शुभारम्भ भएको हो।
एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिंगारी आआफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ।
यसरी नगरपरिक्रमा गर्नाले वर्षभर मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ।
राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक व्यहोर्नुपर्छ भन्ने देखाउन, जनतालाई आ–आफ्नो घरका मृत्युवरण गरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको इतिहास छ।
हरेक वर्ष दिवंगत आफन्तको सम्झनामा मनाइने गाईजात्रा पर्वको दिन मध्यपुर थिमिमा नगर परिक्रमा गर्दै मृतकका आफन्त । तस्बिर स् रत्न श्रेष्ठ, रासस
नेवार समुदायले मनाउने यो पर्व पुत्रवियोगमा रहेकी आफ्नी रानीलाई त्यसबाट पार पाउन प्रेरित गर्न राजा प्रताप मल्लले सुरु गरेको मानिन्छ। यो पर्व मनाउने क्रममा गाईजात्रालाई कृषि र प्रकृतिसँग पनि जोड्ने गरिएको जानकार बताउँछन्। भक्तपुरमा परालको भैरव र भद्रकालीको साथमा त्यस वर्ष मरेका व्यक्तिको आकृति प्रदर्शन गरिसकेपछि गाईजात्राको अन्तिम कार्यक्रम सकिन्छ।
ब्लुडाइमण्ड सोसाइटीद्वारा गाईजात्राको अवसरमा काठमाडौंमा निकालिएको प्राइड परेडमा सहभागी एलजीबीटीक्यूआई समुदाय ।
आठ दिनसम्म मनाइने यो पर्वमा विभिन्न डबली तथा चोकमा प्रहसन, नाटक र मार्मिक कथाहरूमा प्रस्तुति दिने परम्परा भएपनि विस्तारै त्यो लोप हुन थालेको छ। नेवार समुदायको बसोवास रहेका देशभरिका सबैजसो ठाउँमा गाईजात्रा मनाइने गरेको छ। काठमाडौं उपत्यकाकै विभिन्न शहरमा यो पर्व मनाउँदाका कतिपय फरक विशेषता छन्। जसमध्ये एउटा भक्तपुरको घिन्ताङ्घिसी नाच पनि हो।














