कांग्रेसमा प्रवेश गर्दै हिरो अनुपविक्रम शाहीले भने,‘अरु भन्दा कांग्रेस नै ठीक लाग्यो’

केन्द्रभाग मिडिया

काठमाडौं ।

अभिनेता अनुपविक्रम शाहीले अन्य पार्टी भन्दा कांग्रेस पार्टी नै ठिक लागेको बताएका छन् ।

आज बिहान नेपाली कांग्रेसमा प्रवेश गर्दै उनले यस्तो बताएका हुन् । दुई दर्जन बढी चलचित्रमा अभिनय गरेका शाही शुक्रबार बिहान एक कार्यक्रमकाबीच कांग्रेस प्रवेश गरेका हुन् । उनलाई गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणले पार्टी सदस्यतासँगै नेपाल तरुण दलको सदस्यता पनि दिएका छन् ।

मन्त्री निवास पुल्चोकमा आयोजित पार्टी प्रवेश कार्यक्रममा तरुण दलका पूर्व अध्यक्षहरु महेन्द्र यादव, उदय शम्शेर राणा, जितजंग बस्नेतका साथै अध्यक्ष विद्वान गुरुङलगायत उपस्थित थिए ।

अभिनेता शाहीले लोकतन्त्र र जनताको अधिकारका लागि कांग्रेसले गरेको योगदान बुझेर पार्टी प्रवेश गरेको बताए । ‘म यसअघि कुनै पनि पार्टीमा आवद्ध थिइन् । पहिलो पटक कांग्रेससँग आवद्ध भएको हुँ,’ उनले भने, ‘कांग्रेसले नेपालमा लोकतन्त्रका लागि संघर्ष गरेको भनेर पढ्दै सुन्दै आइयो । अब बुझ्दै जाँदा अरुभन्दा कांग्रेस नै ठीक लाग्यो ।’

  • २७ श्रावण २०७९, शुक्रबार १०:५२ प्रकाशित