पोखरा ।
स्थानीय तहको निर्वाचन सम्पन्न भएको झण्डै तीन महिना पुग्न लागेको छ । निर्वाचनकै विषयलाई लिएर नेकपा एमाले कास्कीमा देखिएको विवाद भने साम्य हुनुको सट्टा झन बढ्दै गएकोे पाइएको छ । पोखरा महानगरपालिकामा सुरुमा मेयरको टिकट दीपक पौडेललाई दिइएपछी सुरु एमाले भित्रको विवाद प्रदेश र संघीय संसद सदस्यका लागि निर्वाचनको घोषणा भइसक्दासम्म झनै बढेको होे । एमाले नेता पौडेलको टिकट खोसेर अर्का नेता कृष्ण थापालाई दिइएसंगै झांगिएको असन्तुष्टि थापालाई कास्की इन्चार्ज तोकिएसंगै थप सतहमा आएको छ ।
मेयरमा पराजित थापालाई कास्की इन्चार्ज तोकिएसंगै टिकट खोसिएका पौडेलले सामाजिक सञ्जाल फेसबुकमा सटिक स्टाटस लेखेर असन्तुष्टि पोखेका छन् । उनले कृष्ण थापालाई कास्कीको इन्चार्ज तोकिएको तर्फ लक्षित गर्दै ‘अब अपराध कर्म गर्नुहोस पुरस्कार मागे जति पाउनु हुनेछ ,किनभने यो युग कलियुग हो’ लेखेका छन् ।
नेता पौडेललाई पोखरा महानगरमा मेयर उठाउने निर्णय भएसंगै सामाजिक सञ्जाल फेसबुकमा उनले केही वर्ष अगाडि सुन पसलमा सुन किन्दै गरेको भिडियो भाइरल भएको थियो । पौडेलको टिकट खोसेर टिकट ल्याएका नेता थापाकै पहलमा उक्त भिडियो सुनियोजितढंगले भ्रम फैलाउन ल्याइएको नेता पौडेलको आरोप छ । त्यहि भिडियोलाई आधार बनाएर टिकट खोसिएकोमा उनले एमाले नतृत्व प्रति नै असन्तुष्टि पोख्दै आएका छन् । नेता पौडेललाई फकाउन उनकै निवास पुगेका एमाले वरिष्ट उपाध्यक्ष ईश्वर पोखरेललाई छानविन गर्न र न्याय दिन आग्रह गरेका पौडेलले पार्टीमा आफूलाई अन्याय गरिएको बताउँदै आएका छन् ।
नेकपा एमालेका उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले समेत भिडियोकै कारण देखाएर नेता पौडेललाई निर्वाचनमा उठाउने निर्णय बदलिनु गलत भएको टिप्पणी गर्दै आएका छन् । पौडेललाई नै टिकट दिइएको भए पोखरामा एमालेले जित्ने उनको दाबी रहँदै आएको छ ।
पोखरामा एमाले संगठन विभाग प्रमुख खगराज अधिकारी पक्षीय नेता कार्यकर्ताहरुले भने पार्टीका उपमहासचिव गुरुङ र उनको पक्षमा लागेका नेता कार्याकर्ताले अन्तरघात गरेको आरोप लगाएका छन् । जसका कारण पोखरामा मेयरमा पराजय बेहोर्नुपरेको बताएका छन् । एमालेमा छानविन समिति सदस्य समेत रहेका अधिकारी पक्षले उपमहासचिव गुरुङले आफ्ना उम्मेदवार हराउन विपक्षीसंग लामो वार्ता गरेको अडियो नै केन्द्रीय कार्यालयमा लगेर पेश गरिएको दाबी गरेको छ ।
नेता गुरुङले आफूले टिकट नपाउनेबेलासम्म लबिङ गरेको भएपनि टिकट ल्याएपछि पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा मरिमेटेर लागेको दाबी गरेका छन् । उनले आफूले विपक्षीसंग त्यसप्रकारको साँठगाँठ गरेको कसैले एउटा मात्र प्रमाण ल्याए उपमहासचिव पदबाट नै राजिनामा दिने टिप्पणी गरेका छन् ।
गत ३० वैशाखमा एमालेबाट पोखरामा मेयरका उम्मेदवार बनेका कृष्ण थापा गठबन्धनको तर्फबाट साझा उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका धनराज आचार्यसंग पराजित भएका हुन् । थापा पराजित भएसंगै एमालेमा आरोप प्रत्यारोपको श्रृंखला रोकिएको छैन ।














