पेट्रोलियम ढुवानी व्यवसायीद्धारा पुन आन्दोलनको घोषणा

केन्द्रभाग मिडिया

काठमाडौं ।

पेट्रोलियम ढुवानी व्यवसायीले फेरि आन्दोलनको घोषणा गरेका छन् ।

ढुवानी भाडा वृद्धिको माग राखेर आन्दोलन गर्दै आइरहेको नेपाल पेट्रोलियम ढुवानी व्यवसायीले यसअघि स्थगित गरेको आन्दोलनलाई निरन्तरता दिने भएका हुन् । गत २१ साउनदेखि पेट्रोलियम ढुवानी रोक्नेसहितको आन्दोलन घोषणा गरेका थिए ।

तर नेपाल आयल निगमले व्यवसायीको माग पुरा गर्न सहमति जनाएपछि आन्दोलन फिर्ता लिएकोमा नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले आज पुनः आन्दोलन घोषणा गरेको हो ।

निगमले सहमति पालना नगरेपछि व्यवसायीहरु पुनः आन्दोलित हुन बाध्य भएको महासंघका अध्यक्ष खगेश्वर बोहोराले बताए । ‘१ भदौसम्म ढुवानी भाडा वृद्धि नगरिए २ गतेदेखि अग्रिम ढुवानी अनुमति नलिने र अन्य आन्दोलनका कार्यक्रम गर्ने छौं’ महासंघको विज्ञप्तिमा उल्लेख छ ।

गत १५ साउनमा निगमले लिखित पत्र पठाएर भाडा वृद्धि गर्ने जानकारी गराए पनि सो पालना नभएको महासंघको दाबी छ । महासंघले हालको ढुवानी भाडामा ट्रक र ट्यांकर चलाउन नसकिने भन्दै सम्पूर्ण खर्च गर्नेगरी निगम आफैंलाई ट्यांकर चलाउन पनि आग्रह गरिएको छ ।

बढेको इन्धनको भाउअनुसार ढुवानी भाडा नबढेको भन्दै ट्रक ट्यांकर व्यवसायीहरु गत वर्ष देखि नै आन्दोलित छन् ।

  • २६ श्रावण २०७९, बिहीबार १४:२४ प्रकाशित