पोखरा ।
संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले विमान सुरक्षामा असर नपर्ने गरि प्याराग्लाइडिङलाई निरन्तरता दिने उपाय खोज्ने बताएका छन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा प्याराग्लाइडिङले बाधा पुर्याउने भन्दै यहाँबाट हटाउनुपर्ने बताईदै आएको छ । जसका कारण प्याराग्लाडिङ व्यवसायीले आफुहरु मारमा पर्ने बताउँदै आएका छन् ।यद्यपी मन्त्री श्रेष्ठले विमान सुरक्षामा सम्झौता नगर्ने बताएका छन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल १७ पुसमा सञ्चालनमा आउने तय भएपछि मन्त्री श्रेष्ठ पोखरा आएका हुन्। पर्यटन व्यवसायीहरुले पर्यटनमन्त्री श्रेष्ठलाई भेटेर पोखराको ब्राण्ड बनेको प्याराग्लाइडिङलाई पनि जोगाउन ध्यानाकर्षण गराएका थिए ।
उनले भने, ‘विमानस्थल यहाँकै मागअनुसार निर्माण भएको हो । विमानको सुरक्षामा सम्झौता गर्न मिल्दैन । तर सुरक्षामा असर नपर्ने गरी प्याराग्लाइडिङलाई कुनै उपायबाट कायम राख्न सक्ने स्थिति भएमा त्यसलाई प्रयोग गरेर संरक्षण गर्छौं ।’