पोखरा ।
देशभरका नायब सुब्बा (नासु)हरु आन्दोलित छन् । बजेटमा घोषणा गरेभन्दा असमान ढंगले सरकारले कर्मचारीको तलब बढाएको भन्दै केही दिन यता आन्दोलन गर्दै आएका नासुहरु आज बिदामा बसेर सांकेतिक रुपमा सरकारको विरोध गरेका हुन् ।
कास्कीमा पनि जिल्ला प्रशासन कार्यालय वाहिर नासुले धर्ना दिएर विरोध जनाए । शहीद चोकको चौतारोमा नासुहरु जम्म भएका थिए ।
हिजो पेन डाउन गरेर काम ठप्प बनाएका उनीहरु काम छोडेर आन्दोलनमा लागेका हुन् ।
असमान तलब वृद्धिका विरूद्ध र प्रस्तावित संघीय निजामती सेवा ऐनमा समावेश गर्नुपर्ने मागका सन्दर्भमा आन्दोलन गरिरहेको नेपाल निजामती कर्मचारी युनियनको भनाइ छ ।
चालू वर्षको बजेटबाट सरकारले कर्मचारीको तलब १५ प्रतिशतले बढाएको थियो । तर अर्थ मन्त्रालयले शाखा अधिकृतभन्दा माथिका कर्मचारीको तलब २४ प्रतिशतसम्म बढाउन प्रस्ताव गरेपछि आफूहरुलाई अन्याय भएको भन्दै नासुहरुले आन्दोलन थालेका थिए ।