पोखरा पन्छी समाजको अध्यक्षमा घिमिरे

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा पन्छी समाजको अध्यक्षमा मनशान्त घिमिरे चयन भएका छन् । समाजको शनिबार सम्पन्न पाँचौं वार्षिक सधारणसभा तथा दोस्रो अधिवेशनले घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

समाजको उपाध्यक्षमा शेषकान्त शर्मा, सचिवमा अनन्त ढकाल, सहसचिवमा गंगाबहादुर घले, कोषाध्यक्षमा हिराकुमारी मल्ल चयन भएका छन् । कार्यसमिति सदस्यमा कृपा कुमारी गुरुङ, पुष्पा तिलिजा पुन, आनन्द बराल र सुनिल पाण्डे चयन भएका छन् ।

यस अगाडि साधारणसभा एवं अधिवेशनको उद्घाटन सत्रमा बोल्दै गण्डकी विश्व विद्यालयका उपकुलपति डा. नवराज देवकोटाले ताल तलैया बनजंगल, पानीढलोको सुरक्षा गर्दै वातावरणलाई जोगाउन सकेमात्र पन्छीको अस्थित्व विस्तार भइरहन सम्भव हुने हुँदा मानवीय अतिक्रमण हुन नहुनेमा उनको जोड थियो ।

डिभिजन बन कार्यालय पोखराका प्रमुख केदार बरालले संरक्षणको क्षेत्रमा खटेर काम गर्न कठिन रहेपनि बर्ड सोसाइटीले गरेको योगदानको चर्चा गरे । उनले अहिले चरा घाइते हुँदा बन कार्यालयमा फोन आउने गरेको चर्चा गर्दै संरक्षणको क्षेत्रमा अहिले चासो बढेको बताए ।

पन्छी संरक्षण नेपालका कृष्णप्रसाद भुषालले चरा र तिनको बासस्थानको संरक्षण गर्नुपर्नेमा जोड दिए । संरक्षण क्षेत्र बाहिर २० स्थानमा चारा संरक्षण गर्नुपर्ने क्षेत्र रहेकाले सरकार र सम्बन्धित निकायले त्यता तर्फ ध्यान दिनुपर्ने धारणा राखे ।

उनले राष्ट्रिय चरा घोषणा गरेजस्तै प्रदेशको चरा र स्थानीय तहको चरा घोषणा गर्नुपर्ने बताए । पर्यावरण संरक्षण गर्ने विषयमा सरकारले बेवास्ता गर्ने गरेको भन्दै दुःख प्रकट गरे । चरा र पर्यावरणको क्षेत्रमा काम गर्नेहरुलाई विकास विरोधी भन्ने गरिएको भन्दै आपत्ति जनाए ।

पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराईले पर्यटन प्रवद्धनमा बर्ड सोसाइटीको महत्वपूर्ण योगदान रहेको बताए । उनले पर्यावरण जोगाउन सकेमात्र चराचुरुंगीको अतिविधि बढाउन सकिने उनले धारणा राखे ।

अब प्रकृति जोगाउने विषय विदेशीको सहयोगमा मात्र नभई सरकार र यहीँका संस्थाहरुको सहयोगमा संरक्षणका काम गर्नुपर्नेमा जोड दिए । उनले फेवादेखि पामेसम्म पहिले देखिने चराहरु अहिले देखिन छोडेको बताए । पामेको फाँट सबै पलटिङ गरिँदा पर्यावरण कसरी जोगिएला भन्दै उनले चिन्ता प्रकट गरे ।

कार्यक्रममा पोखरा पन्छी समाजका सल्लाहकार जीवनराम सापकोटा, फोटो पत्रकार चुङ्बा शेर्पा, बर्दिया प्रकृति संघका राम शाही, नवलपुर जटायु रेष्टुरेन्टका डिवि चौधरी र उपाध्यक्षले शेषकान्त शर्मा लगायतले बोलेका थिए ।

  • २१ श्रावण २०७९, शनिबार १९:४० प्रकाशित