चुनावी तालमेलका गर्दै गठबन्धन : भदौ दोस्रो सातासम्म भागबण्डा टुंग्याउने

केन्द्रभाग मिडिया

काठमाडौं ।

५ दलीय सत्ता गठबन्धन आगामी चुनावमा एक भएर अघि बढ्ने भएको छ ।

संघीय तथा प्रादेशिक चुनावको मिति घोषणा भएसँगै आज पहिलो पटक बसेको सत्ता गठबन्धनको बैठकले आगामी चुनावी तालमेलका लागि कार्यदल बनाउने निर्णय गरेको छ । बैठक आज (शुक्रबार) बिहान बालुवाटारमा बसेको थियो ।

नेकपा एकीकृत समाजवादीका महासचिव डा। बेदुराम भुसालको अनुसार आगामी चुनावमा सत्ता गठबन्धन एक भएर जाने निर्णय भएको छ । भुसालले भने, ‘ सत्तागठबन्धन एक भएर जाने भएको छ ।चुनावी तालमेलबारे कार्यदल बनाउने निर्णय भएको छ ।’

उनका अनुसार आगामी भदौ दोस्रो साताभित्र सिटको भागबण्डा टुंग्याउने गरी कार्यदललाई जिम्मा दिने निर्णय भएको छ । कार्यदलमा को को बस्ने भन्ने दलहरुले आन्तरिक छलफल गरेर टुंग्याउने भएका छन् ।

सत्ता गठबन्धनमा रहेका दलहरुले सिट भागबण्डामा आआफ्नै प्रस्ताव अघि सारेका छन् । काँग्रेसले ९५ देखि १०० सिट आफुले पाउनुपर्ने बताउदै आएको छ भने माओवादी केन्द्रले ५० माथि दावी गर्दै आएको छ । त्यस्तै नेकपा एकीकृत समाजवादी २० र जनता समाजवादीले १५ देखि २० सिटमा दावी गर्ने नेताहरुले बताउदै आएका छन् ।

  • २० श्रावण २०७९, शुक्रबार १३:४३ प्रकाशित