गोविन्द सुवेदी
पोखरा ।
सरकारले विद्यालय बसलाई व्यवस्थित गर्न र विद्यार्थीलाई सहजका साथै सुरक्षीत आवागमनका लागि जारी गरेको स्कुल बस निर्देशिका २०७४ पोखराका नाम चलेका विद्यालयहरुले नै लागु गर्न आलटाल गरेका पाइएको छ । अधिकांस नाम चलेका विद्यालयले समेत अझैपनि बाहिरको रङ समेत पहेँलोमा परिणत गरेका छैनन् । क्षमताभन्दा धेरै विद्यार्थी बोकेको पाइएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रकाश शाहले विद्यालयहरुले स्कूल बस निर्देशिका कार्यान्वयनमा आलटाल गरिरहेको स्विकार गरे । उनले विद्यार्थीको सुरक्षाका लागि पनि स्कुल बस निर्देशिका अनिवार्य रहेको उनले बताए । विद्यालय सञ्चालकहरुलाई बोलाएरै निर्देशिकाको कार्यान्वयन गर्न आग्रह गरिएको बताएका उनले अटेर गर्ने विरुद्ध अप्रेशन चाइने प्रतिक्रिया दिएका छन् । ‘स्कुल बस निर्देशिकाको कार्यान्वन गर्न भनेर हामीले उहाँहरु (विद्यालय सञ्चालक) लाई बोलाएरै कार्यान्वयनमा जान भनेका छौं । तरपनि केहीले बेवास्ता गरिरहनुभएको छ’ उनले भने ।
कास्कीमा २ सय हाराहारीमा निजी विद्यालयहरु छन् । यि विद्यालयका झण्डै ४ सय बसले विद्यार्थी ओसार्छन् । यसरी विद्यार्थी ओसार्ने बसलाई विहान विद्यालय समयमा विद्यार्थी पु¥याउन हतार हुन्छ । धेरै ठाउँ पुग्नुपर्ने, सिमित साधनले गर्दा स्कुल बसको गती धेरै नै हुन्छ । एक बस चालकले सबैतिर भ्याउनुपर्ने भन्दै विस्तारै हाँके विद्यालयमा समयमा विद्यार्थी पु¥याउन नसकिने बताए । स्कुल बस निर्देशिका २०७४अनुसार स्कुलबसको अधिकतम गती ४० किलोमिटर प्रतिघण्टा भन्दा हुनुहुँदैन । तर सहरका सडकमै उनीहरुले बेप्रवाह बस हुइकाइरहेका हुन्छन् ।
- २ सिटमा ३ जनाबारे गलत बुझाई
स्कूल बस निर्देशिका अनुसार १२ बर्ष भन्दामुनिका विद्यार्थीलाई सिट क्षमताभन्दा १।५ गुणा धेरै राखेर ओसारपसार गर्न सकिन्छ । यसरी हेर्दा दुई सिटमा १२ बर्ष मुनिका तीन विद्यार्थी बस्न सक्छन् । तर यसैको अपब्याख्या गर्दै ठूला उमेरका विद्यार्थीलाई नै त्यसरी कोच्ने गरेको पाइएको ट्राफिक प्रमुख शाह बताउँछन् ।
‘कुनै बसको सिट क्षेमता ४० रहेछ भने त्यसैलाई अपब्याख्या गरेर ६० जनासम्म कोच्ने गरिन्छ,’उनले भने, ‘किन धेरै कोचेको भन्यो भने निर्देशिकाले नै २ सिटमा ३ जना भनेको छ भन्छन्, १२ बर्ष मुनिकालाई मात्र हो भनेर सम्झाउनुपर्ने अवस्था छ ।’ उनका अनुसार यसरी धेरै यात्रु कोच्ने बस कारबाहीमासमेत पर्ने गरेका छन् ।
- थोत्रा बसको प्रयोग
पोखराका केही विद्यालयहरुले अझै पनि २० वर्ष पुराना बस मार्फत विद्यार्थी ओसार्ने गरेका छन् । बाटोमा प्रर्दुशण गर्ने यस्ता केही गाडि रङरोगन गरेर बाहिर चिटिक्क परिएका हुन्छन् । ‘सर्वजनिक यातायातका साधन हिजो थोत्रा भएपछि स्कुलले किन्ने र त्यसैलाई रङरोगन गरेर चलाउने गरेको सत्य हो, एक विद्यालय सञ्चालकले भने, ‘अहिले पनि केही विद्यालयले अनुरोध नै गर्दा समेत हटाउन मानेका छैनन् ।’ यद्यपी पछिल्लो समय १० वर्ष भन्दा पुराना सार्वजनिक यातायातका साधनलाई रातो नम्बर प्लेटमा परिणत नगरिएको यातायात व्यवस्था कार्यालय गण्डकीका प्रमुख डिल्लीराम रिजाल बताउँछन् । विद्यालयहरुले आफ्ना सवारीको नियमित प्रर्दुषण जाँचपास गर्नुपर्ने अनिवार्य भएपनि त्यसको समेत पालना नगरेको कार्यालय प्रमुख रिजालले जानकारी दिए । अब अनुगमन गरेरै यस विषयमा अगाडि बढ्ने उनले बताएका छन् ।
- आपतकालिन ढोका छैनन्, ढोका खुलै राखेर हुइक्याइन्छ
निर्देशिका अनुरुप बसको रङ परिवर्तन गरेका बसले पनि स्कूल बसको भौतिक मापदण्ड पालना गरेका छैनन् । अधिकांस स्कूलबसहरुमा पछिल्लो आधा मागको दाहिनेतिर आपतकालिन द्धार९इमरजेन्सी इक्जिट्स०को व्यवस्था हुनुपर्छ ।
बस चल्दा ढोका बन्द गरेर चलाइनुपर्छ । स्कूल बसको झ्यालमा कम्तिमा पनि ३ वटा आल्मुनियम ट्युवको ग्रील दुबै तर्फ लगाइएको हुनुपर्छ । प्राथमिक उपचार बक्सको व्यवस्था हुनुपर्छ । बसको प्राविधिक जाँचपास सार्वजनिक सवारी साधन अनुरुप हुनपर्ने छ । यस्ता सबै कुरा अधिकांस स्कुल बसले लागु गरेको नपाइएको यातायात व्यवस्था कार्यालय गण्डकीका प्रमुख डिल्लीराम रिजालले जानकारी दिए ।
- नाम चलेकै स्कूलले मान्दैनन् नियम
पोखराको नामचलेको विद्यालय गण्डकी बोर्डिङ स्कूलले आफ्ना ६ वटा बस मध्ये तीन वटा मात्र रङ परिवर्तन गरेर पहेँलो बनाएको छ । बाँकी ३ वटा बस अर्कै कलरका छन् । उपहार पाएको बसको कलर परिवर्तन गर्न नमिल्ने गण्डकी बोर्डिङ स्कुलका प्रधानाध्यापक वीरेन्द्र खड्का बताए । यद्यपी स्कुल बस निर्देशिका अनुरुप अगाडि बढ्ने प्रयत्न गर्ने उनले सुनाए । पोखरामा पछिल्लो समय ठूलो लगानी गरेर अन्तर्राष्ट्रिय स्तरको दाबी गरिएको फिष्टेल एकेडेमीले समेत स्कुल बस निर्देशिका अनुरुपको रङ समेत परिवर्तन गरेको छैन ।
कुमुदिनी होम्सका सञ्चालक असोक पालिखेले केही सरकारी तवरबाट सञ्चालित बस भएका विद्यालयहरुले समेत मापदण्ड अनुरुप सवारीको रङ नबदलेको बताउँछन् । सञ्चार माध्यमले नीजि विद्यालयको बारेमा मात्र सोधखोज गरेको भन्दै दुखेसो पोखेका उनले नेपाली सेनाको सैनिक कल्याणकारी कोष द्धारा सञ्चालित विद्यालय, साइनिङ स्कुल र पोखरा विश्वविद्यालय लगायतले समेत स्कुल बस निर्देशिका कार्यान्वयनमा नलगेकाले निजी विद्यालयलाई उनीहरुले कार्यान्वयनमा आएपछि प्रश्न गनुपर्ने उनको तर्क छ ।
प्यावसनका केन्द्रीय सदस्य समेत रहेका कास्कीका निवर्तमान अध्यक्ष प्रेम प्रसाद शर्माले रङ परिवर्तन गर्दा अनावश्यक खर्च हुने र त्यो राज्यकै खर्च रहेको तर्क गरे । अधिकांस सवारी मापदण्ड अनुरुप लगिएको र अब नगन्य मात्रामा मात्र बसको रङ परिवर्तन गर्न बाँकी रहेको उनको भनाई छ ।