सरकारद्धारा सप्तकोशी बाढी प्रभावितका लागि राहत सहयोगको अपिल

केन्द्रभाग मिडिया

काठमाडौं ।

सप्तकोशीको बाँध फुटेर बस्तीमा पसेपछि प्रभावित बनेका परिवारलाई राहत तथा व्यवस्थापनमा सहायता गर्न सरकारले सरकारी, गैरसरकारी र व्यवसायीहरूसँग अपिल गरेको छ ।

गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा। डिजन भट्टराईका अनुसार प्राप्त राहत एकद्वार प्रणालीबाट संकलन गर्ने र एकद्वारबाटै वितरण गरिनेछ ।

प्राधिकरणले जारी गरेको प्रेस नोटमा लेखिएको छ, ‘उद्धार गरिएका नागरिकहरूको व्यवस्थापनका लागि टेन्ट तथा अन्य बन्दोबस्तीका सामान पठाउने क्रम जारी छ । राष्ट्रिय सरकारी तथा गैरसरकारी संस्था र व्यवसायीलाई समेत सहयोगका लागि आह्वान गरिसकिएको छ ।’

संकलन गरिएका राहत उदयपुर र सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी वा उनले तोकेको प्रतिनिधि तथा उदयपुरको बेलका र सुनसरीको बराहक्षेत्र नगरपालिकाका नगरप्रमुखको संयोजनमा वितरण गरिने प्राधिकरणले जनाएको छ ।

सप्तकोशीको बाढी बुधबार बिहान करिब ४ बजेतिर उदयपुरको बेलका नगरपालिका वडा नम्बर ८ को डुम्रिबोटको बाँध भत्काउँदै बस्तीमा पसेको थियो । सो बाढीबाट मानवीय क्षति भने भएको छैन । तर धान, मकै लगायतका खेतीबालीमा क्षति पुगेको छ ।

  • १९ श्रावण २०७९, बिहीबार १०:०१ प्रकाशित