म्याग्दी ।
बेनी –जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको सिमानामा पर्ने काभ्रेभिरमा सोमबार दिउँसो पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको हो ।
भिरबाट पहिरो खसेर सडक पुरिएको बेनी-जोमसोम-कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले जानकारी दिएका छन्।
पहिराले सडक पुर्नुका साथै कालीगण्डकी नदी बग्ने ठाउँलाई साँघुरो बनाएको छ । पहिरो खसेको क्षेत्रमा विस्फोटक पदार्थको प्रयोग गरेर पहाड फुटाएर सडक विस्तार गरिएको थियो ।
पहिरो खसेपछि म्याग्दीबाट गएका र मुस्ताङबाट बेनीतर्फ गएका सवारीसाधन बीच बाटोमै रोकिएका छन् । मानिस पैदल हिँड्न पनि नसकिने भएकाले वैकल्पिक पैदलमार्ग प्रयोग गर्न अनुरोध गरिएको छ ।
पहिरो नरोकिँदा र सडक नखुल्दासम्म घाँसाबाट पहिरोथाप्ला म्याग्दीको कोप्चेपानी–गाडपार हुँदै दाना निस्कने वैकल्पिक पैदलमार्ग प्रयोग गर्न अनुरोध गरिएको छ ।
स्थानीय बासिन्दा मुस्ताङ भ्रमणमा गएका पर्यटक तथा मुक्तिनाथ दर्शन गर्न गएका भक्तजन सडक अवरुद्ध हुँदा प्रभावित बनेका छन् ।
दुई दिनदेखि निरन्तर परेको वर्षाको कारण आएको बाढीले मुस्ताङको कैकुखोलामा सडक बगाएको छ ।
बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनका अनुसार रुप्सेखोला र बेगखोलामा पनि सडक अवरुद्ध भएको छ । पहिरो रोकिएपछि बेनी–जोमसोम–कोरला सडक आयोजनाका उपकरण परिचालन गरेर पहिरो पन्छाएर सडक खुलाइने भएको छ ।














