पोखरामा पहिरोले घर पुरियो : १ को मृत्यु, २ जना घाइते

केन्द्रभाग मिडिया

पोखरा ।

हिजो साँझबाट निरन्तर परिरहेको अविरल वर्षाले पोखरा महानगरपालिका–६ डिहिकोपाटनमा पहिरोले घर पुरिंदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

गएराति करिब १ बजे पहिरोमा परेर लक्ष्मी खड्का क्षेत्रीको घरमा डेरा गरी बस्ने २६ वर्षीय सन्तोष सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

उनलाई १ बजेर ५५ मिनेटमा उद्धार गरी पश्चिम क्षेत्रीय अस्पताल पठाइएकोमा सन्तोषलाई डाक्टरहरुले २ बजेर २० मिनेटमा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक डिएसपी सुन्दर तिवारीले बताए। सन्तोषको स्थायी कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं।१ भुर्जुङखोला तातोपानीका हुन् ।

पहिरोमा परेर सन्तोषकी दिदी २७ वर्षीया सुनिता सुनार र उनकी १० वर्षीया छोरी सिम्रन सुनार घाइते भएका छन् । उनीहरुको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट को कमाण्डमा २५ प्रहरी र सशस्त्र प्रहरी बल कालिका गणका इन्सपेक्टर उमेश ढकालको कमाण्डमा १५ जनाको टोली उद्धारमा खटिएको प्रहरीले जनाएको छ ।

  • १६ श्रावण २०७९, सोमबार ०८:४२ प्रकाशित