भारत लैजादै गरेको १५६ केजी गाँजा सहित ट्रक र चालक नियन्त्रणमा

केन्द्रभाग मिडिया

विराटनगर। तरकारी बोकेको ट्रकमा लुकाएर भारततर्फ लैजादै गरेको १५६ केजी गाँजा प्रहरीले विराटनगर–१५ को दुई नम्बर ढाटदेखि पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय रानीले शुक्रबार राती साढे १० बजे प्रदेश १–०२–००१ ख ८६७७ नम्बरको मिनी ट्रकलाई चेकजाँच गर्दा छ बोरा गाँजा फेला पारेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठका अनुसार धनकुटाको शहिदभूमि गाँउपालिका–३ छिन्ताङका २९ वर्षीय विवेक राई चालक रहेको ट्रकमा ४६ बोरा बन्दाकोभी लोड गरिएको थियो । गाडीमा बन्दाकोभीका बोरा मुनी छ बोरा गाँजा समेत भारततर्फ तस्करी गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिइएको हो ।

प्रहरीले चेकजाँचपछि गाँजा भेटिएको मिनिट्रक, चालकसहित सम्पूर्ण सामान नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । इलाका प्रहरी कार्यालय रानीले चालक राईसँग गाँजा विषयमा थप अनुसन्धान सुरु गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

  • १४ श्रावण २०७९, शनिबार १३:१७ प्रकाशित