काठमाडौं ।
अर्थमन्त्री प्रकरणमा छानबिन गर्न बनेको संसदीय विशेष समितिले आज छानबिन प्रतिवेदन बुझाएको छ ।
समितिले आज बसेको प्रतिनिधिसभाको बैठकमा प्रतिवेदन पेश गरेको हो । समितिले प्रतिवेदनमा करको दर निर्धारणमा अनधिकृत व्यक्तिको संलग्नता नदेखिएको निष्कर्ष निकालेको छ ।
समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले पेश गरेको प्रतिवेदनमा करको दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश गरेको नदेखिएको उल्लेख छ ।
अर्थ मन्त्रालयबाट प्राप्त जवाफ, कागजात, प्राप्त भएको सीसीटीभी फुटेजको अध्ययन गरेको समितिले भनेको छ, ‘हालसम्म समितिले गरेका छानबिन र संकलन गरेका प्रमाणका आधरामा करका दर निर्धारणमा अनधिकृत व्यक्ति प्रवेश गरेको देखिएन ।’
यससँगै करका दर हेरफेरमा अनधिकृत व्यक्तिको प्रभावको प्रसंग सान्दर्भिक नरहेको समितिले बताएको छ । प्रतिवेदनमा भनिएको छ, ‘करको दरले अर्थतन्त्रमा परेको प्रभावहरुको नियमित अध्ययनले संसदको सम्बन्धित विषयगत समितिले नै गर्ने हुँदा त्यसतर्फ यस समितिले थप केही गर्नुपर्ने देखिएन ।’
विभिन्न राजनीतिक पार्टीका नेता तथा सांसदहरुले पूर्वअर्थमन्त्री जर्नादन शर्माले अनाधिकृत व्यक्तिलाई संलग्न गराई करको दर हेरफेर गरेको भन्दै उनको राजीनामा माग गरेका थिए । सर्वत्र आलोचना भएपछि शर्माले राजीनामा पनि दिएका छन् ।