काठमाडौं ।
अर्थमन्त्री प्रकरणमाथि छानबिन गर्न बनेको संसदीय समितिले आज प्रतिवेदन बुझाउने भएको छ ।
चालू आर्थिक वर्ष ०७९/८० को बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराएर करका दायरा हेरफेर गरेको भन्ने आरोपमाथि समितिले गरेको छानबिन प्रतिवेदन आज सभामुख अग्निप्रसाद सापकोटालाई बुझाउने तयारी गरेको हो।
समितिले १७ दिन लगाएर छानबिन गरेको हो । समितिका सचिव सुरेन्द्र अर्यालका अनुसार आज बिहान सभामुखसँग समय मागेर प्रतिवेदन बुझाइनेछ । बजेटको अघिल्लो राति १४ जेठमा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश भए–नभएको छानबिन गर्न प्रतिनिधिसभाले २२ असारमा समिति गठन गरेको थियो ।
समितिले शर्माविरुद्ध लागेको आरोप प्रमाणित गर्ने प्रमाण जुटाउन भने असफल बनेको छ । सो समितिलाई सुरूमा १० कार्य दिन दिइए पनि तोकिएको समयमा आवश्यक काम नसकिएपछि थप ७ दिन म्याद थपिएको थियो । जसको म्याद आज सकिँदैछ ।
समितिले अर्थमन्त्रालयसँग सीसीटीभी फुटेज माग गरेको थियो । समितिले गृहमन्त्रालयलाई सिंहदरबार छिर्ने दुई गेटको सीसीटीभी फुटेज समेत मागेको थियो । तर, त्यसमा समेत अर्थमन्त्री शर्माविरुद्ध लागेको आरोप पुष्टि हुने प्रमाण नभेटिएको बताइन्छ ।














