प्रधानमन्त्री देउवालाई ‘सुट गर्न सक्छु’ भन्दै अन्तरवार्ता दिने युवक पक्राउ (अन्तरवार्तासहित)

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी एक कार्यक्रममा ब्यानरसहित नाराबाजी गरेर पक्राउ परेका युवक दोस्रोपटक पनि पक्राउ परेका छन् ।

अर्जुनराज पौडेल नाम गरेका युवक प्रधानमन्त्री देउवा उपस्थित कार्यक्रममा नाराबाजी गरेर चर्चामा आएका हुन् । उनी हिरासतबाट छुटे लगत्तै हुलाक सञ्चार नामक एक युट्युब च्यानललाई आपत्तिजनक अभिव्यक्ति दिदै अन्तरवार्ता दिएको भन्दै पुन पक्राउ गरेको प्रहरीले बताएको छ ।

अन्तर्वार्तामा उनले मुलुकको सुरक्षा व्यवस्थालाई चुनौती दिँदै आफूले चाहे प्रधानमन्त्रीलाई एक मिटर नजिकबाट सुट गर्न सक्ने दाबी गरेका थिए । आफूहरू प्रधानमन्त्री देउवालाई च्यालेन्ज गर्दै ब्यानर देखाउन पुगेको उनले अन्तर्वार्तामा बताएका छन् ।

‘हामी त नजिक आउन सक्छौँ भने जो पनि तपाईंको नजिक आउन सक्छ । हामी सुरक्षित छौँ, जतिसुकै राष्ट्रघात गरेपनि जनताले के गर्न सक्छन् भनेर मौन रहेर नबस्नुस्’ प्रधानमन्त्री देउवालाई चुनौती दिदै पौडेलले भनेका छन्, ‘आज हामी तपाईंको १० मिटर नजिक आएका छौँ । भोली एक मिटर नजिक आएर सुट पनि गर्न सक्छौँ । छातीमा गोली पनि हान्न सक्छौँ । त्यो ल्याकत अर्जुनराज पौडेलले राख्न सक्छ,’ अन्तर्वार्तामा उनले भनेका थिए ।

कमलादीमा आयोजित कार्यक्रममा नागरिकता विधेयकको विरोध गर्दै नाराबाजी गरेका तीन जना युवा पक्राउ परेका थिए । तीनैजना पछि छुटे पनि पौडेल फेरी पक्राउ परेका हुन् । उनलाई बुधबार साँझ बानेश्वरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

  • १२ श्रावण २०७९, बिहीबार १४:२७ प्रकाशित