तनहुँका यी जनप्रतिनिधिले अझै बुझाएनन् चुनावी खर्चको विवरण

केन्द्रभाग मिडिया

तनहुँ ।

तनहुँका अधिकांश जनप्रतिनिधिले दुई महिना बित्दा पनि चुनावी खर्चको विवरण बुझाएका छैनन् ।

निर्वाचनको मत परिणाम घोषणा भएको ३० दिनभित्र निर्वाचन खर्च विवरण बुझाइसक्नु पर्ने कानुनी प्रावधान भएपनि स्थानीय तहको निर्वाचन, २०७९ मा विभिन्न राजनीतिक दलबाट उम्मेदवार बनेका अधिकांश जनप्रतिनिधिले चुनावी खर्चको विवरण नबुझाएको पाइएको हो ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा तनहुँबाट एक हजार ६ सय ३७ जनाले विभिन्न पदमा उम्मेदवारी दिएका थिए । हालसम्म चार सय एक जनप्रतिनिधिले चुनावी खर्चको विवरण बुझाएका छन् भने एक हजार दुई सय छत्तीसले अझै बुझाएका छैनन् ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी धीरेन्द्र शाहीका अनुसार खर्च विवरण नबुझाउनेमा अधिकांश पराजित र केही निर्वाचित उम्मेदवार छन् । भिमाद नगरपालिकाको प्रमुख र उपप्रमुखमा निर्वाचित तथा पराजित उम्मेदवारले पनि खर्च विवरण बुझाएका छैनन् ।

त्यसैगरी, भानु नगरपालिकाका प्रमुख उपप्रमुखमा निर्वाचित, वडाध्यक्ष र वडासदस्य कसैले पनि निर्वाचन खर्च विवरण बुझाएका छैनन् ।आँबुखैरेनी गाउँपालिकामा निर्वाचित उम्मेदवारले खर्च विवरण बुझाए पनि अन्य पालिकाका उम्मेदवारले भने आलटाल गरेका छन् ।

  • १२ श्रावण २०७९, बिहीबार १०:२७ प्रकाशित