काठमाडौं ।
इराकको राजधानी बग्दादमा उच्च सुरक्षा क्षेत्र तोडेर प्रदर्शनकारीहरू संसद् भवन प्रवेश गरेका छन्।
धर्मगुरु मुक्तदा अल(सदरका समर्थकहरूले प्रधानमन्त्रीमा विपक्षी उम्मेदवारको विरोधमा प्रदर्शन गरेको समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ ।
गत अक्टोबरमा भएको आम निर्वाचनमा सदरको पार्टीले सबैभन्दा धेरै सिट जिते पनि सरकार बनाउन सकेको छैन।संसद् भवन प्रवेश गरेका प्रदर्शनकारीहरूलाई प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रयोग गरेर रोक्ने प्रयास गरेको थियो।
प्रदर्शनकारीहरू प्रवेश गरेको समयमा संसद् भवनमा कुनै पनि सांसदहरू उपस्थित थिएनन्।प्रदर्शनकारीहरूको भीड सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति रहने ग्रिन जोनमा प्रवेश गरेको थियो।
सामाजिक सन्जालहरुमा सेयर भइरहेका भिडियो र फोटोहरुमा प्रदर्शनकारीहरू संसद भवनभित्र नाचगान गरेको र टेबलहरूमा सुतेको देखिन्छ ।प्रधानमन्त्री मुस्तफा अल खादिमीले प्रदर्शनकारीहरुलाई संसद भवन छाड्न आग्रह गरेका छन् ।