पोखरा ।
नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले पोखरामा सहि उम्मेदवार नउठाएकै कारण आफ्नो पार्टी मेयरमा पराजित भएको टिप्पणी गरेका छन् । बुधबार विहान पोखराको रेडियो बाराहीमा पत्रकार गोविन्द सुवेदीसंग कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
बहालवाला सांसद र पटक पटक अबसर पाएका पात्रलाई अगाडि नसारौं भन्दाभन्दै अगाडि सारिएकाले पोखरामा मेयर हार्नु परेको उनको प्रष्टिकरण छ । प्रदेशसभाका सांसद राजिव पहारी र कृष्ण थापालाई उम्मेदवार नबनाउने आफ्नो प्रस्ताव विपरित अनेकढंगले उम्मेदवार फेरिएको उनले बताए ।
उनले उच्च जातिय अहंकार देखाउने र दलीत माथि थिचोमिचो गर्नेको पक्षपोषण गरेका पात्रलाई उम्मेद्वार बनाइनुपनि हारको कारण भनेका छन् । विपक्षीले सत्ता र शक्तिको दुरुपयोग गरेका कारण पनि एमाले पराजित भएको उनको भनाई छ ।
पोखरामा पृथ्वी सुब्बा गुरुङसंग जोडेर एमालेका संगठन विभाग प्रमुख समेत रहेका पूर्वमन्त्री खगराज अधिकारी निकट कार्यकर्ताहरुले विभिन्न आरोप लगाउने गरेका छन् । मेयर पदका उम्मेदवार बनेका कृष्णबहादुर थापा पराजित हुनुमा गुरुङ पक्षीय नेता कार्यकर्ताको असहयोग मात्र नभई विपक्षीसंग साँठगाँठ गरेको उनीहरुको आरोप छ ।
यस्तो आरोपलाई उनले ‘पोखरामा मलाई बोक्सी देखाउने झाँक्री धेरै छन्’ भनेका छन् । उनले काठमाडौंमा केशव स्थापितसहित अरु महानगरमा एमालेका उम्मेद्वार ‘कुन बोक्सीका कारण हारेका हुन्’ भनेर टिप्पणी गरे ।
आफूले असहयोग गरेको कुनै प्रमाण भए पेश गर्न समेत आरोप लगाउनेहरुलाई उनले चुनौति दिए । उनले यसपाली पार्टीमा घात प्रतिघात अन्य चुनाव भन्दा धेरै भएको भने स्विकार गरे । तर, पार्टी पराजित हुनुको कारण घात प्रतिघात भन्दापनि सत्ता र शक्तिको दुरुपयोग र आफ्नो पार्टीको विरुद्ध घेराबन्दी नै रहेको बताएका छन् ।
https://www.facebook.com/radiobarahipokhara/videos/774370470361943