म्यानमारी सेनाले दियो पूर्वसांसदसहित ४ जनालाई मृत्युदण्ड

केन्द्रभाग मिडिया

काठमाडौं ।

म्यानमारको सेनाले पूर्वसांसदसहित चार जनालाई मृत्युदण्ड दिएको छ । पूर्वसांसद फ्यो जेया थअ, को जिम्मी नामले चिनिने क्यो मिन यु, ह्ला म्यो आङ र आङ थुरा जअलाई आतंककारी गतिविधि गरेको आरोपमा मृत्युदण्ड दिइएको बीबीसीले जनाएको छ ।

को जिम्मी नामले चिनिने क्यो मिन युलाई गत वर्ष अक्टोबरमा यांगुनस्थित घरमा हतियार लुकाएको र छाया सरकारको सल्लाहकार भएको आरोपमा पक्राउ गरिएको थियो ।

यसैगरी ४१ वर्षीय फ्यो जेया थअले सैन्य शासकविरुद्ध कडा अभिव्यक्ति दिंदै आएका थिए । उनलाई सैनिक सरकारले गत नोभेम्बरमा पक्राउ गरेको थियो । मृत्युदण्ड दिइएका अन्य दुई जनाका बारेमा भने खुलेको छैन । यद्यपि उनीहरुविरुद्ध सेनालाई सूचना पुर्याएको आरोपमा एक महिलालाई हत्या गरेको अभियोग थियो ।

म्यानमारको सरकारी समाचार संस्था ग्लोबल न्यूज लाइट अफ म्यान्मारले चारै जनाले आतंककारी गतिविधिलाई निर्देशन र व्यवस्थापन गरेको कारण प्रतिआतंकवाद कानुनअन्तर्गत सजाय दिइएको बताएको छ । यद्यपि उनीहरुलाई कहाँ र कसरी मृत्युदण्ड दिइयो भन्ने समाचारमा स्पष्ट नभएको बीबीसीमा उल्लेख छ ।

  • १० श्रावण २०७९, मंगलवार ०९:४७ प्रकाशित