काठमाडौं ।
गृहमन्त्री बालकृष्ण खाणले अछामको पहिरोमा परेकाको तत्काल उद्धार र राहत उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । तुर्माखाँद गाउँपालिका –२ भुलुमा आइतबार राति गएको पहिरो र त्यसले पुर्याएको क्षतिबारे जानकारी लिदैँ खाँणले निर्देशन दिएका हुन् ।
गृहमन्त्री खाणले अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनी र जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी)नारायण डागीलाई टेलिफोन गरेर आवश्यक पर्ने सहयोगबारे मन्त्रालयमा जानकारी गराउन निर्देशन दिदै घाइतेको यथाशीघ्र उपचार र तत्कालको राहत उपलब्ध गराउन निर्देशन दिएका हुन् ।
आइतबार राति अमर विष्टको घर पहिरोमा पुरिँदा उनकी भाउजु हरिकला विष्ट, भाइ विरेन्द्र विष्ट र भतिज १५ वर्षका संविधान विष्टको मृत्यु भएको छ। ६५ वर्षका नैना विष्टको भने जिवितै उद्धार गरेर अस्पताल पुर्याइएको छ ।














